कस्तो छ बूढानीलकण्ठ नगरपालिका ?

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौंको उत्तरी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ०७१ साल मंसिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खडेका भद्रकाली, चुनिखेल, महाँकाल, विष्णु बूढानीलकण्ठ र कपन गरी ६ वटा गाविसहरू मिलाएर १९ वडामा विभाजन गरी प्रशासकीय हिसाबले समायोजन गरिएको थियो । सरकारकै ०७१ साल फागुन २७ गतेको निर्णयले साबिककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । 

महानगरबाहेक जनसंख्याका आधारमा नेपालकै दोस्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौं महानगरपालिकाका वडा नम्बर ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्छ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौं उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, बौद्ध धर्मावलम्बीको आस्थाको क्षेत्र हो । यस नगरपालिकाभित्र बूढानीलकण्ठ मन्दिर, चण्डेश्वर मन्दिर, रुद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, बंगलामुखीजस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्रीडाङ्गुर झ्याङ्तेरादाग्र्यालिङ गुम्बा, आनी गुम्बा, कपन गुम्बा, छोर्लिङलगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मावलम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् ।

आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत शृंखलालगायत हरियाली जंगल रहेको भिरालो भूभाग पनि रहेको छ । दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रुद्रमती, धोबी खोला, यज्ञमती, च्याने खोलाजस्ता नदी–खोलाहरू बगेर गएका छन् । 

 विकास निर्माणको प्रगति
नगरपालिकाले बाटो, ढल, खानेपानी, पार्क, मठ–मन्दिर, स्वास्थ्य, शिक्षा पूर्वाधार र खेलमैदान गरी विषय छुट्याएर भौतिक विकास योजना बनाएको छ । आव ०७७/७८ मा नगरपालिकाले आवश्यकताअनुसार १३ वटै वडामा भौतिक निर्माणको काम गरिरहेको छ । जसअनुसार ६ सय १३ वटा योजना सम्पन्न भएका छन् । सबैभन्दा बढी ढुंगाको पर्खाल लगाइएको छ । त्यस्तै, नगरको लगानीमा मात्र १४ किलोमिटर नौ सय २८ मिटर ढल निर्माण गरेको छ । बाटो ढलान ११ किलोमिटर सात सय ५४ मिटर सम्पन्न भएको छ ।

६ किलोमिटर नौ सय ९४ मिटर सडक कालोपत्रे गरिएको नगरपालिकाले उल्लेख गरेको छ । त्यस्तै, ६ किलोमिटर सात सय ७३ मिटर खानेपानीको पाइप बिछ्याइएको छ । तीन किलोमिटर नौ सय ३३ मिटर सडकमा ग्राभेल हालिएको छ । तीन किलोमिटर चार सय १२ मिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ । दुई किलोमिटर पाँच सय ८७ मिटरमा ढुंगा छापिएको छ । त्यस्तै, दुई सय १३ मिटर सडकमा इँटा बिछ्याइएको छ । 

नगरपालिकाले १६ हजार एक सय ९० घनमिटर ढुंगाको पर्खाल लगाएको छ । त्यस्तै, दुई सय ४० घनमिटर इँटाको पर्खाल लगाएको जनाइएको छ । एक सय ९४ मिटर सेरवाल निर्माण गरिएको छ । नौवटा कल्भर्ट निर्माण गरिएको तथा एउटा स्टिलको पुल निर्माण गरिएको छ । २६ वटा सामुदायिक भवन, ११ वटा पार्क, आठवटा ट्रस भवन, १६ वटा भवन मर्मत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, १९ ठाउँमा पहिरो नियन्त्रण, १२ वटा मन्दिर मर्मत, सातवटा खानेपानी ट्यांकी निर्माण, ६ सय तीनवटा सडक–बत्ती जडान, सात सय चारवटा सिँढी निर्माण, नौवटा सार्वजनिक शौचालय निर्माण, तीनवटा खानेपानी बोरिङ तथा एउटा खेल मैदान निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यसर्थ, १३ वटा वडा जोड्ने आठ मिटर पक्की सडक, बूढानीलकण्ठ चक्रपथ, धोबी खोला करिडोर, मूल सडकहरू तयार भएका छन् ।

केही निर्माणाधीन अवस्थामा रहेका छन् । झन्डै तीन अर्बको लागतमा खानेपानीका संरचनाहरू तयार हुँदै छन् । दर्जनभन्दा बढी खुला पार्कहरू बनेका छन् । विद्यालय भवनहरू बलिया, पक्की बनेका छन् । नगरको संस्थागत संरचना गत हिसाबले परिपक्व बनेको छ । नगरको समृद्धि र सुशासनका पक्षमा आवश्यक विधि, ऐन–कानुनहरू तयार भएका छन् । आगामी दिनमा विकासका कार्यहरू सहज र तीव्रताका साथ अघि बढ्ने तयारी भएको छ । 

सुझावित समाचार