नौ महिनापछि नेप्सेमा सय अंकभन्दा बढी गिरावट : बजार घट्न थालेपछि गभर्नरको राजीनामा माग

डिजिटल संस्करण
  • आइतबार तीव्र बिक्री बढेपछि बजार तीन घन्टा नपुग्दै ५ प्रतिशतले घटेका कारण ४० मिनेटका लागि कारोबार नै स्थगित
  • १७ वटा कम्पनीको सेयर मूूल्यमा नकारात्मक सर्किट, १४ वटा कम्पनीको मात्र मूल्य बढ्यो
  • असार अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोमा कर्जा जारी गरेका छन् 
     

सेयर बजार घटाउन राष्ट्र बैंक नियोजित रूपमा लागेको भन्दै लगानीकर्ताले विरोध गरेसँगै बजारमा प्यानिक सेल पनि बढेको छ । आइतबार बजार खुलेदेखि नै तीव्र रूपमा ओरालो लागेको बजार दुई घन्टापहिले नै एक सय ५० अंकसम्म घटेको थियो । बजार बन्द हुँदा भने नेप्से एक सय ८ अंकले घटेको छ । नौ महिनायता पहिलोपटक नेप्से यो दरमा घटेको हो । यसअघि २१ मंसिर ०७७ मा एक सय २३ अंकले बजार घटेको थियो । 

आइतवार तीव्र बिक्री बढेपछि बजार तीन घन्टा नपुग्दै ५ प्रतिशतले घटेका कारण ४० मिनेटका लागि कारोबार नै स्थगित गर्नुपरेको थियो । बजारमा सेलिङ प्रेसर बढेसँगै लगानीकर्ता राष्ट्र बैंकको आलोचना गर्दै गभर्नरको राजीनामा मागमा उत्रिएका छन् । पुँजी बजार संघर्ष समितिले जारी गरेको मागमा ‘राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न सकेको छैन,’ भन्ने उल्लेख छ । 

बजार घट्दै गएपछि लगानीकर्ताले १५ बुँदे मागपत्र जारी गरेका छन् । जसमा सबैभन्दा मुख्य माग नै केही समयअघि राष्ट्र बैंकले ल्याएको एकल कर्जा सीमाको खारेजी रहेको छ । ‘केही मुुठीभरका लगानीकर्ताले बढी कर्जा लिएर बजारमा चलखेल गरे भन्ने आधारमा जुन नीति ल्याइएको छ, यसले समग्र बजारलाई नै प्रभाव पारेको छ,’ नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले भने, ‘किनभने, साना–ठूला जुन लगानीकर्ता भने पनि बजारका अंग हुन्, एउटा अंगलाई समस्या पर्दा सबै शरीरलाई अप्ठ्यारो हुन्छ ।’ 

केही दिनअघि राष्ट्र बैंकले सेयर धितोमा एउटा बैंकबाट कर्जा लिँदा चार करोड रुपैयाँ र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सकिने गरी एकल ग्राहक सीमा तोकिदिएको छ । यस्तो कर्जा ग्राहकको कर्जा भुक्तानी अवधि वा एक वर्षमध्ये जुन पहिला आउँछ, त्यही अवधिमा सीमामा ल्याउन निर्देशन दिएको छ । 
गत असार अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोमा कर्जा जारी गरेका छन् । कुल आठ हजार पाँच सय ८६ जना ऋणीले यस्तो कर्जा लिएको भए पनि ६ सय ३६ ले चार करोडभन्दा केही बढी र एक सय ६२ जनाले १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् । यी दुई सीमामा मात्रै ३६ अर्ब ४४ करोड रुपैयाँ कर्जा गएको छ । कुल सेयर धितो कर्जाको ३४ प्रतिशत लगानी करिब नौ प्रतिशतले लगानीकर्ताले पाइरहेका छन् । 

राष्ट्र बैंकले भने भारतमा समेत सेयर धितो कर्जामा सीमा लगाइएकाले यहाँ पनि लगाइएको र यसले साना लगानीकर्तालाई हित गर्ने बताउँदै आएको छ । भारतमा त्यहाँको केन्द्रीय बैंक आरबिआईले भौतिक रूपमा रहेको सेयरको धितोमा प्रतिव्यक्ति १० लाख र डिम्याट (अभौतिक) मा रहेको सेयरलाई प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म कर्जा जारी गर्न सक्ने व्यवस्था गरिएको छ । सेयरमा लगानी प्रकृतिअनुसार फरक–फरक व्यवस्थासमेत छ । 

केही समयअघि पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एक वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार नगर्न परिपत्र जारी गरेको थियो । बैंकहरूमा तरलताको कमी देखिएसँगै बैंकहरूको निक्षेपको ब्याजदरसमेत बढ्ने सम्भावना देखिएपछि पनि बजारमा प्रभाव परेको हो ।  

१७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट
आइतबार कारोबारमा आएका १३ वटै समूहका सूूचक नकारात्मक बनेका छन् । फाइनान्स समूूहको सूूचक ८ प्रतिशतले घटेको छ भने विकास बैंक, जलविद्युुत्, जीवन बिमा, निर्जीवन बिमा, वाणिज्य बैंकलगायत समूूहका सूूचकमा उच्च गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूूल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्सलगायतको मूल्य १० प्रतिशतले घटेको हो ।  

आइतबार १४ वटा कम्पनीको मूल्य मात्र बढेको छ । हालै कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको दुई करोड ३० लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ११ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ ।

सुझावित समाचार