झापा र मुस्ताङसहित ४३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, दैलेखकी १९ वर्षीय स्वस्तिका बनिन् वडा सभापति

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार झापा र मुस्ताङको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार दुई जिल्लाका वडाहरूमा अधिवेशन सम्पन्न भएको हो ।

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले यी दुई जिल्लामा निर्वाचन सम्पन्न भई मतगणना हुने क्रममा रहेको जानकारी दिए । ‘आज झापा र मुस्ताङ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । मतगणना हुने क्रममा छ ।’ उनले नयाँ पत्रिकासँग भने ।

यससँगै वडा अधिवेशन सम्पन्न हुने जिल्लाहरूको संख्या ४३ पुगेको छ । शुक्रबारबाट सुरु भएको अधिवेशनको पहिलो दिन ४१ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका थिए । निर्वाचन सम्पन्न भएका वडाको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैबीच, कांग्रेसको वडा अधिवेशनमा १९ वर्षीया किशोरी वडा सभापतिमा निर्वाचित भएकी छिन् । दैलेख दुल्लु नगरपालिका वडा नम्बर–३ को सभापतिमा स्वस्तिका महत विजयी भएको कांग्रेसले जनाएको छ । 

यससँगै महत कांग्रेसको हालसम्मकै कान्छी वडा सभापति बनेकी छिन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत महतलाई बधाई दिँदै कांग्रेसमा नयाँ पालुवा पलाउँदै छ भन्ने सन्देश दिएको बताएका छन् ।

सुझावित समाचार