मलेपको प्रतिवेदन कार्यान्वयन गराउन खबरदारी

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन गराउन नागरिक समाजबाट सरकार र राजनीतिक दलहरूलाई चर्को खबरदारी गर्नुपर्ने आवाज उठेको छ । शुक्रबार बुद्धिजीवी परिषद् मोरङले आयोजना गरेको छलफलमा विराटनगरका सरोकारवालाहरूले अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने धारणा राखेका हुन् ।

प्राध्यापक डाक्टर भेषप्रसाद धमलाले मलेपाले वर्षौँदेखि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरे पनि खबरदारी हुन नसक्दा अनियमितता र बेरुजु झन्झन् बढ्दै गएको बताए । जनताले तिरेको करबाट निर्माण भएको बजेट दुरुपयोग गर्नु नीतिगत भ्रष्टाचार भएको भन्दै उनले मलेपाको प्रतिवेदनले औँल्याएका विषयहरू कानुनअनुसार निरुपण गर्दै लैजान देशभर खबरदारी आवश्यक रहेको बताए ।

प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण पोखरेलले मलेपाको प्रतिवेदन कार्यान्वयन गराउन प्रतिनिधिसभा र प्रदेश सभाका लेखा समितिहरूले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

प्रा.डा राजनारायण यादवले मलेपाको प्रतिवेदन कुनै राजनीतिक भेदभावमा नपरी कार्यान्वयन गराउन सके देशमा अनियमितता र भ्रष्टाचार नियन्त्रण हुँदै जाने उल्लेख गरे । अर्का प्रा.डा वेदराज आचार्यले नागरिकहरू नबोलेसम्म सरकारले जनताको पैसामा सधैँ मनोमानी गरिरहने भन्दै अख्तियारलाई राजनीतिमुक्त गराएर सक्रिय बनाउनुपर्ने धारणा राखे ।

सुझावित समाचार