कालीबहादुर गणमा हतियार चोरी प्रकरण : २८ महिना जेलमा राखिएका दुई सैनिक निर्दाेष

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

झुटो प्रमाण पेस गर्ने सैनिक अधिकारीको सम्बन्धमा अदालत मौन

२८ महिनाभन्दा बढी जेल सजाय भुक्तानपछि दुई सैनिक निर्दाेष साबित भएका छन् । उदयपुर चौदण्डी– ९ का २६ वर्षीय अलम्दार लवकुमार गुरुङ र मोरङ सुन्दरहरैँचा– १२ का २८ वर्षीय सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले बिहीबार निर्दाेष फैसला गरेको हो । 

‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरी अभियोगमा दुवैलाई २ पुस ०७५ मा हिरासतमा लिइएको थियो । त्यसको चार महिनापछि २५ वैशाख ०७६ मा समरी जनरल सैनिक अदालतले दोषी प्रमाणित गर्दै गुरुङ र तामाङलाई सैनिक ऐन, २०६३ को दफा ४९ को ‘क’ अन्तर्गतको सम्पत्तिसम्बन्धी कसुरमा क्रमशः १० र ७ वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उनीहरूले चोरी आरोपमा चितवनस्थित जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । 

तर, चोरी भएको सोही मेसिनगन प्रयोग गरी सैनिक जवान गंगाधर ढकालले आफ्नै सहकर्मीको हत्या गरेपछि भने हतियार चोरी प्रकरणले नाटकीय मोड लिएको थियो । त्यसलगत्तै गुरुङ र तामाङका परिवार काठमाडौं आएर निष्पक्ष छानबिन गर्न दबाब दिएका थिए । 

भद्रकालीस्थित सैनिक मुख्यालयमा बसेको सैनिक विशेष अदालतले उनीहरूलाई मेसिनगन चोरी अभियोगलाई पूर्ण रूपमा उल्टाउँदै बिहीबार सफाइ दिएको हो । अदालतको फैसलापछि अलम्दार लवकुमार र सिपाही सरोजलाई शुक्रबार नै जेलमुक्त गरिएको छ । त्यसलगत्तै उनीहरूले चितवनस्थित कालीबहादुर गणमा हाजिर गरेका छन् । सेनाका अनुसार तीन वर्षदेखि टुटेको तलब सुविधासमेत उनीहरूले पाउनेछन् । अबको केही दिनभित्रै परिवारसँग भेट मिलानका लागि उनीहरूलाई बिदामा छाड्ने व्यवस्था पनि सेनाले गरेको छ । 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै दुवैले सफाइ पाएको बताएका छन् । ‘०७५ साल पुसमा सेनाको चितवनस्थित गणबाट हतियार हराएको सम्बन्धमा कैद भुक्तान गरिरहेका अमल्दार लवकुमार र सिपाही सरोजको सम्बन्धमा सैनिक विशेष अदालतमा परेको पुनरावेदनउपर उक्त अदालतले प्रतिवादी दुवैलाई साबिककै दर्जामा सैनिक सेवामा पुनर्वहाली गर्ने गरी १७ भदौमा फैसला भई कार्यान्वयन भइसकेको जानकारी गराइन्छ,’ पौडेलले भने । 

यद्यपि अर्काे आरोपमा भएको एक फैसलामा भने दुवैजनाको बढुवा तीन वर्षको लागि रोकिएको छ । ड्युटीमा लापरबाही गरेको र अनुशासन कायम नगरेको प्रमाणित गर्दै विशेष अदालतले १८ चैत ०७५ बाट लागू हुने गरी तीन वर्षसम्म बढुवा रोक्का हुने फैसला गरेको हो । सैनिक ऐन, २०६३ को दफा ५२ को छ र ज अनुसार विशेष अदालतले उनीहरूलाई यस्तो फैसला सुनुवाइ गरेको हो । 

झुटो प्रमाण पेस गर्ने सैनिक अधिकारीको सम्बन्धमा अदालत मौन
निर्दाेष सेनाहरूले सफाइ पाए पनि उनीहरूलाई झुटो मुद्दामा फसाउने तत्कालीन सैन्य अधिकारीको विषयमा सैनिक अदालत मौन छ । कालीबहादुर गणका तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठले लवकुमार र सरोजलाई जेल सजाय दिलाउन मुख्य भूमिका खेलेका प्रमाणहरू छन् । त्यसवेला गणको कायममुकायम प्रमुख रहेका श्रेष्ठले हतियार चोरी भइसकेपछि घटनास्थलको सुरक्षा गर्न सकेका थिएनन् । कोर्ट अफ इन्क्वायरीका टोलीलाई पनि उनैले ‘मिस लिड’ गरेको पीडित पक्षले आरोप लगाएका छन् । 

मेजर श्रेष्ठकै भनाइलाई आधारमा बनाई कोर्ट अफ इन्क्वायरीका तत्कालीन अधिकारीले घटनास्थलको मुचुल्का बनाएका थिए । लवकुमार र सरोजलाई चरम यातना दिएर झुटो अभियोग स्वीकार गर्न बाध्य तुल्याएको परिवारका सदस्यहरूले बताउँदै आएका छन् । 

मेसिनगन चोरी भएपछि सेनाको मुख्यालयले तत्कालीन महासेनानी राजेन्द्रमणि गिरीको संयोजकत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । इन्क्वायरीमा सदस्यका रूपमा तत्कालीन प्रमुख सेनानी हरिशरण अधिकारी र तत्कालीन मेजर प्रेम गिरी नियुक्त भएका थिए । मेजर श्रेष्ठको रिपोर्टिङकै आधारमा उनीहरूले प्रतिवेदन बनाए । लगत्तै सेनाले तत्कालीन सहायक रथी सहदेव खड्काको संयोजकत्वमा समरी जनरल सैनिक अदालत गठन गर्यो ।

अदालतले सोही प्रतिवेदनका आधारमा भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी लवकुमारलाई १० र सरोजलाई सात वर्ष कैद सजाय सुनुवाइ गरेको थियो । उनीहरूसँगै पक्राउ परेका अर्का सिपाही चुबी गुरुङलाई भने अदालतले तीन महिना कैद सजायसहित सेवाबाट बर्खास्त गर्ने फैसला गरेको थियो  । आरोपित दुवै सैनिकलाई सघाएको आरोपमा अन्य दुई निर्दाेष नागरिक तारा तामाङ र पवन गुरुङले पनि डेढ वर्ष कैद भुक्तान गरिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत चितवनले सफाइ दिएको थियो ।

अदालतको पूर्ण पाठ आएपछि झुटा प्रमाण जुटाउने अनुसन्धानमा संलग्न तत्कालीन सैनिक अधिकारीमाथि गरिने कारबाहीबारे बताउन सकिने सैनिक प्रवक्ता पौडेलले बताए । उनले भने, ‘अहिले अदालतको पूर्ण पाठ आएको छैन । त्यसवेला अनुसन्धानमा संलग्न अधिकारी र अन्यको पक्षमा के गर्ने भन्ने विषय पूर्ण पाठ अध्ययनपछि मात्रै केही भन्न सकिएला । पक्कै पनि पूर्ण पाठमा उनीहरूको सम्बन्धमा केही न केही उल्लेख भएको हुन सक्छ । पूर्ण पाठमा जे उल्लेख छ, सेनाले त्यही गर्ने हो ।’

पीडितले क्षतिपूर्तिको माग गर्न सक्ने
२८ महिना जेल सजय भुक्तानपछि सफाइ पाएका लवकुमार र सरोजले अब क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा उजुरी गर्न सक्ने कानुन व्यवसायीको भनाइ छ । विविध यातना दिएर अभियोग स्वीकार गर्न लगाएको हुँदा क्षतिपूर्तिका मात्र नभई यातनामा संलग्न सैनिक अधिकारीविरुद्ध पनि उनीहरूले कानुनी लडाइँ लड्न सक्ने उनहरूले बताए ।

लवकुमार र सरोजको पक्षबाट वकालत गर्दै आएका अधिवक्ता सोमनाथ ढुंगानाले पीडितले क्षतिपूर्ति र दोषीमाथि सजायको माग गर्न सक्ने नयाँ पत्रिकालाई बताए ।

‘हतियार अरूले नै चोरी गरेको प्रमाणित भयो । उनीहरूले र परिवारको सदस्यले मानसिक यातना पाए । यसको विरुद्ध पीडित अब अदालत जान सक्छन् । क्षतिपूर्तिको मागदाबी गर्न सक्छन् । सँगै झुटो बयान गराउने र यातना दिने सैनिक अधिकारीविरुद्ध उजुरी गर्न सक्छन् । यो उनीहरूको अधिकारको विषय हो ।’

See More On

सुझावित समाचार