पहिले तालिवानको कमाइ अर्बाैँ डलर, अब कसरी चलाउलान् अर्थतन्त्र ?

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानमा सत्तामा आएसँगै अर्थतन्त्र तालिवानको नियन्त्रणमा पुगेको छ। पछिल्ला दशकमा तालिवानले ड्रग्स तथा अफिम र हेरोइन तस्करी गरेर धन जुटाउन सिकेका थिए, अब कसरी उनीहरूले अर्थतन्त्र चलाउलान् भन्ने प्रश्न उठेको छ। 

लेखक केन्सिया मेलनिकोवाले द फ्रन्टियर पोस्टमा लेखेअनुसार उसले पछिल्ला दशक तालिवानको नियन्त्रण क्षेत्रमा अफिम, हेरोइन एवं ड्रग्सको व्यापारमा कर लगाएको थियो भने पाकिस्तान र खाडी मुलुकबाट पनि पैसा प्राप्त गरेको थियो। पछिल्लो एक वर्षमा डेढ अर्ब डलरभन्दा बढी रकम आर्जन भएको छ।

तर, अब लागुऔषधको उत्पादन वा तस्करी नहुने तालिवानका प्रवक्ता दबिहुल्लाह मुजाहिदले भनेका छन्। उनले भनेका छन्, ‘अब अफगानिस्तान अफिमको खेती गर्ने मुलुक हुनेछैन। अफगानिस्तानलाई विदेशी सहायताको आवश्यकता हुनेछ।’ तालिवानले यो एकपटक भनेको होइन, पटकपटक भनेको थियो। सन् २००० मा अन्तर्राष्ट्रिय मान्यताका लागि उसले अफिमको खेतीमा प्रतिबन्द लगाएको थियो। अफिम खेती नष्ट भएको थियो। तर, सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेपछि सत्ताबाट बाहिरिएका उग्रवादीहरूले पुनः अफिम हेराइन तथा मेथामफेटामाइनको व्यापार अघि बढाएको द फ्रन्टियर पोस्टले जनाएको छ। 

संयुक्त राष्ट्रसंघीय ड्रग्स तथा अपराधसम्बन्धी कार्यालयले अफगानिस्तानलाई विश्वमा सवैभन्दा बढी अफिम उत्पादक मुलुकका रूपमा अफगानिस्तान रहेको बताउँदै आएको छ। तर, पछिल्लो वर्ष त्यहाँ अफिम खेती घटेको छ र ३७ प्रतिशतले कृषि खेती बढेको छ। अफगानिस्तानमा दुई लाख ६३ हजार हेक्टर जमिन कृषियोग्य रहेको छ। राष्ट्रसंघीय तथ्यांकअनुसार प्रतिवर्ष तालिवानले ४० करोड अमेरिकी डलरबराबरको ड्रग्स कारोबार गरेको थियो। तर, पछिल्लो समयमा उनीहरूको प्राथमिकता बदलिँदै गएको छ। 

जानकारहरूका अनुसार तालिवानका संस्थापक मुल्लाह उमरका छोरा मुल्लाह मोहम्मद याकुबले पैसा कमाउने अन्य तरिका अपनाउन आह्वान गरेका थिए। त्यसपछि तालिवानी समूहले खनिज पदार्थदेखि अन्य समृद्ध क्षेत्र जफत गर्न सुरु गरेका थिए।

अफगानिस्तानमा तामा, सिंगमरमर, दुर्लभ लिथियम, सुनलगायत दशौँ खर्ब डलरबराबरका खनिज पदार्थ रहेको अनुमान छ। पछिल्लोपटक तालिवान नियन्त्रित क्षेत्रबाट ४६ करोड डलरको खनिज कारोबार भएको छ। फाइनान्सियल टाइम्सका अनुसार चीन, पाकिस्तान र युएईका निजी कम्पनीहरूले खनिज पदार्थ अफगानिस्तानको तालिवान नियन्त्रित क्षेत्रबाट खरिद गरेका छन्। 

पश्चिमा मिडियाले भविष्यवाणी गरेका थिए कि तालिवानले वित्तीय साम्राज्यको निर्माण गरिसकेका छन् जब सरकार उनीहरुले सम्हाल्नेछन्, यो सब खेर जानेछ। अहिले काबुलमा बचतकर्ता नभएर बैंकहरूको दौडधुप सुरु भएको छ। अर्थतन्त्र गम्भीर रूपमा प्रभावित भएको छ। रुसको इन्स्टिच्युट अफ ओरिएन्टल स्टडिजका शोधकर्ताका आरआइए नोबोस्ती, सेन्टर फर द स्टडिज अफ कन्टेम्पोररी अफगानिस्तानका निर्देशक उमर नेसरले बताएका छन्, ‘अफगानिस्तनमा बैंकिङ प्रणाली पंगु भएको छ। अफगानिस्तान आयातमा निर्भर रहेको मुलुक हो। अफगानिस्तानले ८७ करोड डलरबराबरको निर्यात र आठ अर्ब ६० करोड डलरको निर्यात गर्छ। जनतालाई खुवाउनका लागि पनि तालिवानले राज्यसंयन्त्र व्यवस्थित गर्नु आवश्यक छ। विगतका दशकमा सरकारी खर्चको ७५ प्रतिशत रकम अन्तर्राष्ट्रिय सहायतामा निर्भर थियो। काबुलले मात्रै चार अर्ब डलर जति प्राप्त गर्थ्यो। अब यो अवस्था छैन।’ 

अफगानिस्तानको सेन्ट्रल बैंकका प्रमुख अजमल अहमदीका अनुसार पछिल्ला सरकारी अधिकारीहरूले जम्मा गरेको धन उनीहरू बाहिरिएसँगै मुलुकबाहिर छ। नाै अर्ब डलर विदेशी मुद्रा सञ्चिति रहेकोमा सात अर्ब डलर अमेरिकामा छ। बाइडेन प्रशासन उक्त रकम फ्रिज गर्ने पक्षमा छ। अहिले अफगानिस्तानले मुद्रास्फीति, राष्ट्रिय मुद्राको मूल्यह्रास, बढ्दो गरिबीको सामना गरिरहेको छ। 

सुझावित समाचार