पोखराका तीन स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको ज्यान गएको छ। पाँचजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार पोखरा– २० भलाममा चारजना र पोखरा– ११ काहुँमा एकजनाको पहिरोमा परी ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा भलामको र्याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ रहेका छन्। श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै ज्यान गएको थापाले जानकारी दिए। उनीहरूका तीन वर्षीय  छोरा सन्तोष बेपत्ता छन् भने घाइते नौ वर्षीय छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। भलामकै मुलाबारीमा घरमाथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ वर्षीय छोरा सुजन शार्कीको समेत ज्यान गएको छ।

यसैगरी, पोखरा– ११ भञ्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीले ज्यान गुमाएका छन्। उनकी १४ वर्षीया छोरी सृष्टि उपचारपछि डिस्चार्ज भएकी छन् भने श्रीमती र दुई छोराको मध्यरातमै सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सोही वडाको कसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु र छोरा गिरीश घाइते भएका छन्। भलामको र्याले चौरमा राति करिब ११ बजे घर माथिबाट आएको पहिरोले श्रेष्ठको घर भत्काएको हो। श्रेष्ठको घरको निसानासमेत देखिएको छैन। उनलाई घरबाट तीन सय मिटर तलबाट उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनका तीन वर्षीय छोरा सन्तोषको बिहीबार साँझसम्म खोजी कार्य जारी राख्दासमेत भेटाउन सकिएको छैन।

सो स्थानमा थप पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने महेन्द्र माविसहित आठवटा घरमा आंशिक क्षति भएको २० नम्बर वडाका अध्यक्ष सिम गुरुङले जानकारी दिए।  भलामकै मुलाबारीमा अर्को एक घर पहिरोले बगाएको छ। उक्त घरमाथिबाट अन्दाजी राति १२ बजे ढिस्को खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए। प्रहरीका अनुसार पोखरा ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुर्याएको छ।

पोखरा महानगरपालिका– ८ नम्बर वडाका अध्यक्ष रुद्रनाथ बरालका अनुसार फिर्के खोलामा रहेको मोटरेबल पुल बगेको छ भने पोखरा महानगरपालिका वडा नम्बर ३ मा जमिन भासिएको छ। जमिन भासिँदा देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षति पुगेको छ। उनीहरूको घरअगाडिको सडकपेटी र सडक भासिएको कास्की प्रहरीले जनाएको छ।

सुझावित समाचार