कांग्रेस महाधिवेशन : तल्लो तहको अधिवेशनपूर्व क-कसले गरे केन्द्रीय नेतृत्वमा दाबी ?

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसमा तल्लो तहको अधिवेशन सुरु हुनुअगाडि केन्द्रीय तहको उम्मेदवार घोषणा गर्ने लहर चलेको छ। पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय नेताले उम्मेदवारी घोषणा गर्न थालेका हुन्। 

महाधिवेशन कार्यतालिकाअनुसार १८ भदौबाट तल्ला तहको अधिवेशन सुरु हुँदै छ। बुधबारसम्म केन्द्रीय नेतृत्वका लागि तीनजनाले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन। हालसम्म उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने, गगन थापाले महामन्त्रीमा र कल्याण गुरुङले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि भदौ १८ अगावै सभापतिको साझा उम्मेदवार तय गर्ने गरी छलफल गरिरहेको छ। पौडेल पक्षले सभापतिदेखि पदाधिकारीसम्मका केन्द्रीय नेतृत्वमा साझा उम्मेदवार तय गर्ने रणनीति लिएको छ। पौडेल पक्ष सोहीअनुसार छलफलमा केन्द्रित बनिरहेको छ। 

कसको एजेन्डा के ? 
सभापतिको तर्फबाट पहिलो उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले आफू विजयी भएको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसलाई देशभरबाट विजयी गराउने, संविधानको स्वामित्वसमेत लिने  र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्। ‘मेरो सभापतिको उम्मेदवारी महाधिवेशनमा कसैलाई पराजित गराउन र रिटायर्ड गराउन होइन। रूख चिह्नलाई देशभरबाट बहुमत प्राप्त गर्नका लागि हो,’ निधिको भनाइ छ, ‘युवाले नेतृत्व लिनुपर्छ भनेर सहजीकरणका लागि पनि मेरो उम्मेदवारी हो। गुट–उपगुटबाट माथि उठून् भन्ने मतदाता र जनताको चाहना हो।’ 

त्यस्तै, सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा मानिएका कल्याण गुरुङले कांग्रेसमा पात्र र प्रवृत्ति परिवर्तन गर्न आफू उम्मेदवार बन्न लागेको बताएका छन्। उनले आफू सभापतिमा विजयी भएको अवस्थामा भ्रष्टाचार नियन्त्रण, गुटबन्दी नियन्त्रण र नेतृत्वमा नयाँ आउन सक्ने व्यवस्था मिलाउने र देशको नेतृत्वको विकल्पसमेत तयार पार्न आफ्नो उम्मेदवार रहने दाबी गरेका छन्। ‘नेतृत्वमा उही अनुहार आयो, नयाँ सोच आएन । नयाँ पुस्ता आवश्यक भएको आवाज उठ्न थाल्यो । नयाँ पुस्ताको तर्फबाट मेरो उम्मेदवारी हुनेछ,’ गुरुङले घोषणाका क्रममा भनेका थिए। 

पार्टीको दोस्रो कार्यकारी पद महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका युवा नेता गगन थापा पनि नेतृत्वमा युवा पुस्ताको नेतृत्वका लागि आफूले उम्मेदवारी दिन लागेको सार्वजनिक गरिसकेका छन्। 
त्यस्तै, पौडेल पक्षले आफ्ना उम्मेदवार र एजेन्डा सार्वजनिक नगरे पनि वर्तामान नेतृत्व (सभापति देउवा)को विकल्पका लागि आफ्नो उम्मेदवार हुने बताइसकेको छ। पौडेल पक्षका केन्द्रीय सदस्य बलबहादुर केसी सोहीअनुसार नेतृत्वमा नयाँ अनुहार आउने गरी सभापतिदेखि केन्द्रीय पदाधिकारीसम्म साझा उम्मेदवार घोषणा गर्नेगरी छलफल भइरहेको बताउँछन्। ‘वडा तहको अधिवेशन (भदौ १८) अघि सकेसम्म साझा उम्मेदवार तयार गर्ने नसके साझा प्रतिबद्धता जनाउने गरी छलफलमा छौँ,’ केसीले नयाँ पत्रिकासँग भने।

समर्थन र समूह अस्पष्ट 
हालसम्म निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका नेताहरू आफ्नो समूह र समर्थनबारे भने अहिलेसम्म स्पष्ट हुन सकेका छैनन्। अहिलेसम्म उम्मेदवार बन्ने घोषणा गरेकाहरूमध्ये निधिको टिम घोषणा हुने क्रममा रहेको छ। गगन थापाले आफू सर्वसम्मत उम्मेदवार बन्न प्रयास गर्ने तयारी रहेको बताएका छन्। गुरुङले आफूलाई युवा नेतृत्वको साथ रहेको र छिट्टै टिम घोषणा गर्ने तयारी भइरहेका जानकारी गराएका छन्।  
   
सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत अनिवार्य
कांग्रेस निर्वाचन निर्देशिकाको व्यवस्थाअनुसार ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका,२०७८’ ले केन्द्रीय सभापतिमा जित हासिल गर्न ५० प्रतिशत मत अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय सभापति, प्रदेश समितिको सभापति र जिल्ला सभापतिको निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था गरिएको छ। 

प्रावधानअनुसार ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले पनि प्राप्त नगरेको खण्डमा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउने र अन्य पदहरूमा भने जित हासिल गर्न भने सबैभन्दा बढी मत पाउने उम्मेदवारलाई निर्वाचित हुने व्यवस्था गरिएको छ। 

सुझावित समाचार