पोखराका दुई स्थानमा पहिरोले बगाउँदा तीनजनाको ज्यान गयो

एकजना बेपत्ता, पाँच जना घाइते

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीनजनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । पाँचजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पोखरा– २० भलाममा र पोखरा– ११ काहुँमा पहिरो जाँदा भलाममा दुईजना र काहुँमा एकजनाको ज्यान गुमेको जानकारी दिए । ज्यान गुमाउनेमा पोखरा– २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गुमेको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएकाे उनले जानकारी दिए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष पहिरोमा बेपत्ता छन् । नौ वर्षीय घाइते छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, पोखरा– ११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको ज्यान गुमेको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छिन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको उनले जानकारी दिए ।

त्यस्तै,  पोखरा– ११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् । भलाममा राति करिब ११ बजे घरमाथिबाट आएको पहिरोले श्रेष्ठको घर भत्काएको हो । पहिरो गएको वेला घरमै सुतेका उनीहरूलाई पहिरोले घरसहित बगाएको हो । श्रेष्ठको घरको निसानासमेत देखिएको छैन । श्रेष्ठलाई घरबाट तीन सय मिटर तलबाट उद्धार गरी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही ठाउँबाट मृत अवस्थामा उनकी श्रीमती श्रीमाया तामाङ श्रेष्ठको शव निकालिएको थियो । उनको तीन वर्षीय छोरा सन्तोषको खोजी कार्य जारी छ । उक्त स्थानमा थप पाँच घर पूर्ण रूपमा क्षति पुगेको छ । उक्त स्थानमा रहेको महेन्द्र माविसहित आठवटा घरमा आंशिक क्षति भएको वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार पूर्ण क्षति भएका पाँच घरका परिवारलाई आफन्तकोमा लगिएको छ  भने आंशिक क्षति भएका घरमा रहेका मानिस भने घरमै रहेका छन् ।

भलामकै मुलपानीमा अर्को एक घर बगाएको छ । त्यसैगरी, पोखरा– ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुर्‍याएको छ । पहिरो स्थलमा गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायतले  निरीक्षण गर्दै उचित राहतको आश्वासन दिएका छन् । 

See More On

सुझावित समाचार