प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज आइतबार बिहान भएको भेटमा मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन्। प्रधानमन्त्री देउवाले माओवादी केन्द्र, नेता नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए।
सोही दिन कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिएका थिए । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन् ।