माथिल्लो मर्स्याङ्दी ‘ए’ दुई महिनादेखि बन्द, ६० करोडभन्दा बढी घाटा

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द हुँदा ६० करोडभन्दा बढी नोक्सान भएको छ । १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै विद्युत् उत्पादन बन्द भएको हो ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोडभन्दा बढीको नोक्सानी भएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनले भने, ‘आयोजनाले बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्दा दैनिक १ करोडबराबरको आम्दानी हुन्थ्यो ।’ दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ । 

आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने देखिएको छ । नदीमा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रदेखि पावरहाउससम्मको संरचनामा क्षति पुगेको थियो । बाढीले आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पुर्याएको छ । क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गरिने कम्पनीको तयारी छ । 

आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ । बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको जनसम्पर्क अधिकृत अधिकारीले बताए । चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीको भनाइ छ ।

यस्तै, आयोजनाको बाँधदेखि पावरहाउससम्मको ११ केभी विद्युत् प्रसारण लाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो ।

आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाले ०७३ असोजदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।

सुझावित समाचार