वीरगन्ज महानगरपालिका– २२ परवानीपुरमा रहेको सर्वोत्तम स्टिलको भट्टी पड्किँदा ११ मजदुर घाइते भएका छन्। आज बिहीबार बिहान अचानक भट्टी पड्किँदा कम्पनीमा कार्यरत मजदुर घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा आठ भारतीय र एक नेपाली छन् भने दुईजनाको ठेगाना खुल्न सकेको छैन।
घाइतेमध्ये भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे, लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, लखनउका २० वर्षीय सुशील कुमार, लखनउका ३७ वर्षीय मानसिया, लखनउका ३० वर्षीय रामपुकार यादव, बारा छातापिपराका २२ वर्षीय टिन्कु दास र ठेगाना नखुलेका २७ वर्षीय गगन नायकको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
अन्य घाइते भारत खुसीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिन्कु दास, लखनउका १८ वर्षीय अमरनाथ सहनी र बिहारकै २१ वर्षीय दीपक कुमार सामान्य घाइते भएका छन्।
उनीहरू सबैको वीरगन्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिएका छन्।