- वाणिज्य बैंकहरूले कुल १२ अर्ब ३९ करोड अन्य आम्दानी गरेका छन्, यसको ७० प्रतिशत आम्दानी सेयर कारोबारबाट भएको छ
- बैंकहरूले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतबराबर लगानी सेयर, अन्य संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउँछन्
वाणिज्य बैंकहरूले धितोपत्र (सेयर) मा गरेको लगानीबाट एक वर्षमा करिब ८ अर्ब कमाएका छन् । बैंकहरूको नाममै रहेको बिक्री भइनसकेको सेयरमा थप १२ अर्ब रुपैयाँ नाफा देखिएको छ ।
बैंकहरूले कर्जा लगानीबाट भन्दा अन्य आम्दानीबाट कमाइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘बैंकहरूको करपछिको नाफा १० अर्बले बढेको छ, सेयर लगानीबाट ८ अर्बबराबर आम्दानी भएको छ,’ दाहालले भने, ‘अन्य आम्दानीबाट करिब ५ अर्ब रुपैयाँ नाफामा जोडिएको छ, यसले पनि देखाउँछ, बैंकहरूले ऋण लगानीबाट कमाएका छैनन् ।’
वाणिज्य बैंकहरूले कुल १२ अर्ब ३९ करोड रुपैयाँबराबर अन्य आम्दानी गरेका छन् । यसको करिब ७० प्रतिशत आम्दानी सेयर कारोबारबाट भएको आम्दानी हो । अन्य आम्दानीबाट बैंकहरूको करपछिको नाफामा करिब ५ अर्ब २८ करोड रुपैयाँ जोडिएको दाहालले बताए । बैंकहरूको खुद ब्याज आम्दानी भने ३ अर्ब रुपैयाँले बढेर १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।
सेयर बजारबाट करिब ८ अर्ब कमाइ गरेका बैंकहरूलाई बिक्री हुन बाँकी रहेको सेयरमा मूल्य अन्तरका कारण थप १२ अर्ब रुपैयाँसम्म नाफा हुने देखिएको छ । यो कागजी नाफा हो । बजारमा हुने मूल्य उतारचढावले यो रकममा फेरबदल हुन सक्छ । एकै वर्षमा बैंकहरूको सेयर बजारबाट यस्तो नाफा करिब तीन गुणाले बढेको हो ।
अघिल्लो वर्षमा बिक्री हुन बाँकी रहेको सेयरमा बैंकहरूलाई ४ अर्ब ५९ करोड रुपैयाँ नाफा रहेको थियो । पछिल्ल्लो एक वर्षमा बैंकहरूले सेयर बजारमा थप कति रकम लगानी बढाए, सार्वजनिक भएको छैन । बैंकहरूको वार्षिक वित्तीय विवरणमा मात्रै यो खुल्छ । आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा हुने र सोही समय वार्षिक वित्तीय विवरण पनि सार्वजनिक हुने गर्छ ।
बैंकहरूले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतबराबर लगानी सेयर, अन्य संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउँछन् । त्यस्तै, नियमित कारोबारका लागि प्राथमिक पुँजीको १ प्रतिशत मात्र लगानी गर्न पाउँछन् ।
हाल बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी ५ खर्ब ५७ अर्ब छ । यस आधारमा बैंकहरूले १ खर्ब ६७ अर्ब रुपैयाँसम्म सेयर, डिबेन्चर र सामूहिक लगानी कोषमा र यसै १ खर्ब ६७ अर्बमध्ये ५ अर्ब ५७ करोड नियमित सेयर कारोबारका लागि लगानी गर्न पाउँछन् ।
सेयर बजारमा बैंकहरूले प्राथमिक पुँजीको अधिकतम लगानी गरेको मान्ने हो भने बजारबाट बैंकहरूलाई वार्षिक करिब १२ प्रतिशत (१२ अर्ब कागजी नाफा र अन्य नाफामा रहेको ८ अर्ब रुपैयाँ) नाफा हुने गरेको देखिन्छ ।
समग्रमा यस्तो देखिए पनि नेपाल एसबिआई बैंक र नेपाल बैंकलाई बिक्री नभएको सेयरमा भने नोक्सान भइरहेको छ । नेपाल एसबिआई बैंकलाई किनेको मूल्यभन्दा ९ लाख रुपैयाँ र नेपाल बैंकलाई भने किनेको मूल्यभन्दा ६ करोड ३४ लाख रुपैयाँ नोक्सान देखिएको छ ।
बैंकहरूको सेयर, सरकारी ऋणपत्रलगायतका अन्य विविध लगानीमा भने करिब २ खर्बले वृद्धि भएको छ । सञ्चालनमा रहेकाबाहेक २४ वाणिज्य बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्षको असारसम्ममा १ खर्ब ७४ अर्बले वृद्धि भएर ६ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।