मैले रौतहट सदरमुकाम गौरबाट रौतहट एक्प्रेस नामको पत्रिका निकाल्छु । ३२ साउनको बिहान म घरमै थिएँ । खाना खाएर कार्यालय गएँ । भाइलाई फोन गरेँ । त्यही क्रममा रौतहटकै ग्रिन सिग्नल होटेलबाट राकेश सिंहको फोन आयो । ‘होटेलको मिडिया कभरेज गर्नुपर्यो’ भनेर बोलाउनुभयो । म मोटरसाइकलमा गएको थिएँ, होटेलबाहिर पार्किङ गरेर भित्र पसेँ ।
क्यामेरा लगेको थिएँ । होटेलको भिडियो र फोटो खिच्न थालेँ । एकछिनमा काम सकियो । उहाँले खाजा खाऊँ भन्नुभयो । मैले नाइँ भन्न सकिनँ र खाजा खाएँ । अबेर भएकाले म त्यहाँबाट बिदा भएँ । मोटरसाइक स्टार्ट गरेर १० मिटर अघि मात्रै के बढेको थिएँ, सिभिल ड्रेसका पाँच प्रहरीले मलाई घेरा हाले । म त छक्क परेँ । केही शंकास्पद वस्तु रहेको भन्दै मलाई मोटरसाइकलबाट झर्न भनेँ । मैले ‘वर्कसपमा गएर मात्रै झर्छु’ भनेँ । त्यसवेलासम्म उनीहरूले मेरो कन्चटमा पेस्तोल तेस्र्याइसकेका थिए ।
म उनीहरूसँगै मोटरसाइकलमा वर्कसप गएँ । मोटरसाइकलको सिट खोलियो । केही भेटिएन । पछि उनीहरूले नै लेगार्डमा झुन्ड्याइएको झोला झिके । झोलाभित्र लागुऔषध रहेछ । म छाँगाबाट खसेझैँ भएँ । त्यसपछि मलाई पक्राउ गरेर जिप्रका पुर्याए । केही बेरपछि डिएसपी नारायण चिमौरिया आए । उनले ‘तँ पत्रकार भएर ठूलो कुरा गर्थिस् होइन, अब तँलाई कसरी ठीक पार्छु मैले जानेको छु’ भने । त्यसपछि मेरो म्याद थप भयो ।
नौ दिनसम्म मलाई हिरासतमै राखियो । बाहिर मलाई पक्राउ गरेको विरोध भएछ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले होटेलमा त्यस दिन खिचेको सिसिटिभी फुटेज लिएछन् । मलाई फसाउन लागुऔषध मोटरसाइकलमा राखिएको दृश्य त्यहाँ कैद भएको रहेछ । फुटेज बाहिरिएपछि मात्रै प्रहरीले मलाई रिहा गर्यो । त्यो फुटेज नभएको भए त मेरो जीवन बर्बाद पारिसकेका थिए । यसमा पत्रकार सञ्जय सहनीको षड्यन्त्र भएको मैले ठानेको छु । निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही होस् ।