कोसी अस्पतालको शौचालयमा एक वृद्ध मृत भेटिए

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

सुनसरीको इनरुवाका एक वृद्ध विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेका छन् । कोसी अस्पतालको ओपिडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो इनरुवा नगरपालिका– ३ का ६१ वर्षीय होमराज पोखरेल मृत फेला परेको अस्पतालले जनाएको छ । 

मृत अवस्थामा भेटिएका पोखरेलको गोजीमा जिल्ला अस्पताल इनरुवा सुनसरीको ओपिडी (बहिरंग विभाग)को पुर्जा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार घोप्टो परेर लडिरहेको र मुखबाट फिँज निस्किरहेको अवस्थामा पोखरेलको शव भेटिएको थियो । होमराजलाई इनरुवा अस्पतालले थप उपचारका लागि विराटनगरको कोसी अस्पताल रेफर गरेको ओपिडी पुर्जामार्फत खुलेको हो ।   

दिसापिसाब गर्न शौचालय गएका वेला लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । पोखरेलको साथमा  मधुमेहलगायतका रोगका औषधि पनि भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार