एमालेले बनायो कार्यदल, विभाजनमा गएकालाई मूलधारमा फर्किन आह्वान (भिडियोसहित)

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेले १०बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको छ । १०बुँदे कार्यान्वयनका क्रममा उत्पन्न हुने समस्या समाधानका लागि कार्यदल गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 


मंगलबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेका एमाले स्थायी कमिटी बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्ने अधिकार कार्यदललाई दिएको छ । 

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । 

बैठकले विभाजनमा गएकालाई मूलधारमा फर्किन आह्वानसमेत गरेको छ । यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै बैठकले एकताको लागि आह्वान गरेको हो । 

मंगलबारको बैठकमा तेस्रो धारका नेताहरू पनि सहभागी थिए । बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरूलाई २ जेठ ०७५ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन पनि निर्देशन दिएको छ ।

एमालेले पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको दशौं महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावहरुमाथि छलफल गर्न आगामी भदौ २५ र २६ गते पार्टी स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरिएको ज्ञवालीले बताए । 

एमालेले पार्टी महाधिवेशनको तयारीका लागि कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहको कमिटीको अधिवेशन सम्पन्न गर्ने पनि जानकारी गराएको छ । ज्ञवालीले पार्टी एकताको सन्देश दिने गरी देशभर आगामी भदौ १६–२० गतेसम्म केन्द्रीय प्रशिक्षकहरुको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनहरुको केन्द्रीय कार्यकर्ता भेला आयोजना गर्ने बताए । 

सुझावित समाचार