खानेपानी आयोजनाको ट्यांकी सञ्चालनमा नआउँदै जग भासियो

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

खोटाङको दिक्तेल बजार र आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्यांकी सञ्चालनमा नआउँदै जग भासिएको छ। नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार रुपैयाँको लगानीमा सुरु गरिएको खानेपानी आयोजनाअन्तर्गत सोल्मास्थित तिनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)सहितको ट्यांकी सञ्चालनमा नआउँदै भासिएको हो।

ठेकेदार कम्पनीले ट्यांकी निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि ट्रिटमेन्ट प्लान्ट निर्माण गरेकाले जग भासिएको जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताए। ‘खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ,’ उनले भने, ‘ठेकेदारको लापरबाहीकै कारण निर्माणाधीन ट्यांकीको उत्तर–पूर्वी भागमाको जगको पर्खाल भत्किएपछि ट्यांकीसमेत बग्ने सम्भावना देखिएको छ।’

जग भासिएपछि ट्रिटमेन्ट प्लान्टनजिकैको आवास गृह उच्च जोखिममा परेको छ। ट्रिटमेन्ट प्लान्टको जग भासिएर करिब ५० मिटर फराकिलो पहिरो खसेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवास गृह उच्च जोखिममा परेको हो।

सोल्मास्थित तिनबोटेमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्ट ट्यांकी तथा प्राविधिक आवास गृहमुनिको पर्खाल वर्षाको कारण भत्किएको भन्ने जानकारी आएको र उक्त पर्खाल तत्काल पुनः निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। ‘पर्खाल भत्किएको विषयमा ठेकेदार कम्पनीसँग कुरा भइसकेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले भोलिबाटै पर्खाल पुनः निर्माण गर्ने बताएको छ। यदि नबनाएको खण्डमा नगरपालिकाको तर्फबाट कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको आयोजनाको प्रशोधन केन्द्रकै ट्यांकी जोखिममा परेपछि ठेकेदार कम्पनीको चर्को आलोचना सुरु भएको छ। दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घरधुरीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सहरी खानेपानी आयोजनाको काम सुरु गरिएको हो।

सम्झौता गरेको अठार महिनाभित्र पूरा गर्ने लक्ष्यका साथ गत ०७६ चैत १४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका यो आयोजनाको काम अहिलेसम्म सम्पन्न भएको छैन। मुहान विवाद र कोरोना महामारीका कारण तोकिएको समयमा आयोजनाको काम सम्पन्न नभएको केठेदार कम्पनीले जनाएको छ।

आशिष निर्माण सेवा कम्पनीमार्फत पिइए–बिएन निर्माण कम्पनी जेभीले निर्माणको काम जिम्मा लिएको आयोजनामा ट्यांकी निर्माण, पाइपलाइन विस्तारलगायत भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए। ‘वर्षाका कारण केही ठाउँमा समस्या देखिएको छ,’ उनले भने, ‘समस्या देखिएका ठाउँमा ठेकेदार कम्पनीलाई पुनः निर्माणको काम गराएर आगामी दशैँअगाडि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ।’

जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब आठ सय धारा वितरण गरिएको छ। पुरानो खानेपानी आयोजनाको धारामा पानी नआएपछि दिक्तेलवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी  उपभोग गर्न बाध्य छन्।

सुझावित समाचार