परिपक्व लोकतन्त्र, नैतिक राजनीति र शिक्षित मतदाता भएको मुलुकमा अढाई दशकमा एउटै व्यक्ति पाँचपटक देशको कार्यकारी प्रमुख बन्नु अस्वाभाविक र असम्भव लाग्छ । तर, ०५२ मा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षका देउवा पाँचौँपटक प्रधानन्त्री हुँदा ७५ वर्षका भएका छन् । ‘यो युवाहरूको युग हो’ भने सबै पार्टीका शीर्ष नेताहरूकै अभिव्यक्तिसँग देउवाले अहिले लिएको देशको प्रमुख कार्यकारी प्रमुखको जिम्मेवारीको तालमेल छैन । अस्थिर राजनीतिक दुस्चक्र र युवाहरूको ‘अतिरिक्त पहल’ नहुँदा देशको कार्यकारी प्रमुखको जिम्मेवारी सीमित मान्छेका हातमा छ । दुर्भाग्यपूर्ण उदाहरण छ– ०४६ पछि नेपालमा कोही पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष शासन गर्न पाएका छैनन् । बेलायती प्रणालीबाट प्रभावित भनिएको नेपालको लोकतन्त्रमा भने एकै अनुहारले दशकौँदेखि शासन चलाइरहेका छन् ? प्रमिला देवकोटाको रिपोर्ट :
बहुदलपछिको पहिलो गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र अहिलेको सरकारले २४ साउनमा ल्याएको न्यूनतम साझा कार्यक्रममा मेल खाने योजना धेरै छन् । ०५२ मा बनेको गठबन्धन (कांग्रेस, राप्रपा, सद्भावना) सरकारको कृषि, रोजगारी, स्वास्थ्य, पर्यटन, व्यापार घाटा, सामाजिक सुरक्षा, बेरोजगारी उतिवेलाका प्राथमिकताको विषय थिए ।
२६ वर्षपछि फेरि कांग्रेस, माओवादी, जसपा, एमाले (नेपाल समूह) र जनमोर्चाको गठबन्धन सरकार छ । कोभिड– १९ को बाहेक न्यूनतम साझा कार्यक्रमका उस्तै विषय छन् । दुवैपटक गठबन्धन सरकारको नेतृत्व कांग्रेसको हातमा छ । ती सबैसँगै अर्काे समानता पनि छ– शेरबहादुर देउवा प्रधानमन्त्री छन् । देशका सबै समस्या हल गर्ने कार्यकारी भूमिका देउवाले पाए । देउवाको काँधमा देशको पुरानो पार्टी कांग्रेसको ‘मुखिया’को पनि जिम्मेवारी छ ।
२८ असारमा सर्वाेच्व अदालतले संसद् पुनर्स्थापना गरी विपक्षी दलका नेता देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै उनी आफ्नो जीवनकालमा पाँचौँपटक प्रधानमन्त्री बनेका छन् । ०५२ मा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षका देउवा पाँचौँपटक प्रधानन्त्री हुँदा ७५ वर्षका भएका छन् । ‘यो युवाहरूको युग हो’ भने सबै पार्टीका शीर्ष नेताहरूकै अभिव्यक्तिसँग देउवाले अहिले लिएको देशको प्रमुख कार्यकारी प्रमुखको जिम्मेवारीको तालमेल छैन ।
परिपक्व लोकतन्त्र, नैतिक राजनीति र शिक्षित मतदाता भएको मुलुकमा अढाई दशकमा एउटै व्यक्ति पाँचपटक देशको कार्यकारी प्रमुख बन्नु अस्वाभाविक र असम्भव लाग्छ । उदाहरणका लागि देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा बेलायतको प्रधानमन्त्री रहेका सर जोन मेजर पदमुक्त भएपछि क्रिकेट क्लबको अध्यक्ष भएर रमाए, अहिले गुमनाम छन् । देउवा दोस्रो कार्यकाल प्रधानमन्त्री रहँदा बेलायतका कान्छा प्रधानमन्त्रीको रूपमा रहेका टोनी ब्लेयर पनि अहिले गैरसरकारी संस्था चलाएर बसेका छन् ।
बेलायती प्रणालीबाट प्रभावित भनिएको नेपाल लोकतन्त्रमा भने एकै अनुहारले दशकाैँदेखि शासन चलाउँदै छन् । अस्थिर राजनीतिक दुस्चक्र र युवाहरूको ‘अतिरिक्त पहल’ नहुँदा देशको कार्यकारी प्रमुखको जिम्मा ७५ वर्षका व्यक्तिको हातमा छ । देउवा मात्र होइन, अरू नेताको शैली पनि उस्तै छ, हरेक मौकामा आफैँलाई अगाडि सार्ने र कार्यकारी प्रमुख बन्ने ।
बहुदलपछिको ३० वर्षमा राजाको प्रत्यक्ष शासनको १५ महिनाबाहेकलाई निकाल्दा बनेका मन्त्रिपरिषद् छिटोछिटो परिवर्तन भएका छन् र त्यसमा एकै व्यक्तिहरू पटकपटक सत्तामा पुगेका छन् । यो अवधिमा २१ पटक मन्त्रिपरिषद् गठन हुँदा १२ जना प्रधानमन्त्रीको रूपमा पुगेका छन् । दुर्भाग्यपूर्ण उदाहरण छ– नेपालमा कोही पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष शासन गर्न पाएका छैनन् ।
०४६ पछि राजा ज्ञानेन्द्रको १५ महिनाको प्रत्यक्ष शासनलाई छाडेर २७ वटा मन्त्रिपरिषद्मा विभिन्न दलहरूको प्रतिनिधित्व गर्दै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली प्रधानमन्त्री भए । चन्द र थापा बहुदलकालमा मात्र होइन, पञ्चायती व्यवस्थामा पनि देशको कार्यकारी प्रमुख बनेका थिए । पहिलो संविधानसभा विघटनपछि दलहरूकै सहमतिमा चुनावी सरकारको नेतृत्व खिलराज रेग्मी (२०७०) ले लिए ।

यसरी उनै व्यक्तिहरू पटकपटक सत्तामा पुग्ने प्रवृत्तिलाई कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी ‘अल्पतन्त्र’ भन्छन् । ‘हाम्रो समाज आज पनि असाध्यै दमनमुखी, शोषणमुखी र अल्पतन्त्रले चलेको छ । एकतन्त्रीय शासन एकजनाले चलाउने भयो, थोरै मान्छेले चलाउने अल्पतन्त्र हो,’ गिरीले नयाँ पत्रिकासँग भने, ‘जनताले चलाउने प्रजातन्त्र, गणतन्त्र भएको मुुलुकमा अल्पतन्त्र विद्यमान छ ।’
प्राध्यापक लोकराज बराल नेपालको राजनीति केही व्यक्तिहरूको हातमा घुमिरहनुमा तीनवटा कारण सुनाउँछन् । ती हुन्– इतिहासको प्रभाव, आत्मकेन्द्रित राजनीति र चाकडी प्रथाको निरन्तरता । पञ्चायतको समयमा दरबारको सचिवको ढोकामा सबै धाउँथे, अहिले नेताको ढोकामा धाउँछन् । नेतातन्त्र हाबी छ, पुरानै संस्कार अहिले पनि चलिरहेको छ ।

‘हाम्रा नेताहरू राजनीतिक संस्कार नभएका, आत्मकेन्द्रित र व्यक्तिवादी भए । अरूलाई बन्देज नै गर्ने संस्कार छ । नेपालको इतिहासको प्रभाव पनि हो, राणाहरूका भाइभाइको बीचमा गुटबन्दी हुन्थ्यो, त्यही अहिलेसम्म जारी छ,’ प्राध्यापक बरालले नयाँ पत्रिकासँग भने, ‘लोकतन्त्र भने पनि चाकडी प्रथा, पजनी प्रथा चलिरहेको छ । आफू आएपछि राजनीतिक कार्यकर्ता भर्ना गर्नुपर्ने पजनी प्रथा कायम देखिन्छ । राजनीतिबाट प्रभावित नभएको कुनै संस्था बाँकी रहेन, सबैतिर भताभुंग छ । यस्तो यहाँ चलिरहन्छ ।’
यो अवधिमा कांग्रेसले सबैभन्दा धेरै १३ पटक मन्त्रिपरिषद्को नेतृत्व गर्ने मौका पायो । त्यसमा चारजना व्यक्ति मात्रै प्रधानमन्त्री बने । गिरिजाप्रसाद र देउवा पाँच–पाँचपटक, भट्टराई दुईपटक र सुशील एकपटक प्रधानमन्त्री बने ।
एमाले गठबन्धन सरकारमा पटकपटक सामेल भए पनि गणतन्त्र आउनुअगाडि एकपटक मात्र सत्ता चलाउने मौका पायो । गणतन्त्रपछि भने एमालेले पाँचपटक सत्ता चलाउन पायो । जसमा खनाल र नेपाल एक–एक पटक र ओली तीनपटक प्रधानमन्त्री भएर देशको कार्यकारी प्रमुखको जिम्मेवारी लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चारपटक प्रधानमन्त्री नियुक्त हुँदा चन्द र थापा दुई–दुईपटक नेतृत्वमा पुगे ।
०६३ मा शान्तिसम्झौता गरी संसदीय राजनीतिमा आएको नेकपा माओवादीले पनि तीनपटक मन्त्रिपरिषद्को नेतृत्व गर्न पायो । त्यसमा माओवादी अध्यक्ष प्रचण्डले दुईपटक र वरिष्ठ नेता भट्टराईले एकपटक नेतृत्व गरे ।

यसरी पार्टीका पुराना पुस्ताको सत्तामाथिको दबदबामा समाजशास्त्री चैतन्य मिश्र हाम्रो संस्कृतिको योगदान देख्छन् । ‘पुरानो पुस्ता नयाँ पुस्तामाथि हाबी हुने हाम्रो संस्कृति छ । बाजे बाउमाथि हाबी हुने, छोराछोरीमाथि बाउ हाबी हुन्छ । त्यसैले यसमा कुन पार्टीविशेष भन्ने छैन, जो आए पनि हुने यही हो,’ मिश्रले नयाँ पत्रिकासँग भने, ‘प्रचण्ड, ओली, माधव जो आए पनि उस्तै हो । कुनै नेता, कुनै पार्टी फरक छैन । किनभने यो हाम्रो संस्कृति बनेको छ ।’
पहिलो आमनिर्वाचित सरकारलाई ‘कु’बाट हटाएर पञ्चायत लागू गरेपछिका ३० वर्ष र त्यसलाई हटाएर ०४६ चैतमा बहुदलीय प्रजातन्त्र ल्याएपछिको ३० वर्षको तथ्यांक हेर्दा पनि केही व्यक्तिले पटकपटक राज्य चलाउने प्रवृत्तिमा समानता भेटिन्छ । यसमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुलाई नेताहरूमा रहेको सामन्ती प्रथालाई मुख्य कारण मान्छन् डा. देवेन्द्रराज पाण्डे ।

नेपालको राजनीति परम्परागत भएको र संस्था बन्न नसकेको पाण्डेको ठम्याइ छ । नेतृत्व चयन, त्यसको कार्यान्वयन र नयाँ नेतृत्वको विकासजस्ता संस्थामा हुनुपर्ने गुण नेपाली राजनीतिमा देखिन्न । ‘यहाँको राजनीति हकदाबीले चलेको छ । संगठन बनाएर राजनीति गर्ने, त्यसपछि पदमा जानु काम गर्नु अनि त्यसमा परिणाम देखाउनु हाम्रोमा देख्न पाइँदैन । कामका आधारमा इतिहास बनाऊँ भन्ने चिन्तन देखिँदैन यहाँ,’ पाण्डेले नयाँ पत्रिकासँग भने ।
पदमा रहेर खासै केही उपलब्धि नहुँदा पनि पटक–पटक त्यही पुग्न राजनीतिज्ञलाई किन मन लाग्छ ? पञ्चायतमा दुईपटक र बहुदलपछि थप दुईपटक प्रधानमन्त्री बनेका चन्दले यसलाई मानवीय स्वभाव भनेर टिप्पणी गरे । ‘कुनै मान्छेलाई पदको प्रस्ताव गर्दा उसले किन अस्वीकार गर्छ ? एकदम जिउ फालेर लाग्ने त कमै होलान्, तर जुनसुकै मान्छे पनि पद पाएपछि नाइँ भन्छ त ?’ उनले नयाँ पत्रिकासँग भने ।
पाण्डेले कुनै एक व्यक्ति पटकपटक पदमा पुगे वा नयाँ जो आए पनि राजनीतिक संस्कार उस्तै हुँदा कुनै बदलाव नआउने दाबी गरे । ‘मान्छे उही भए पनि नयाँ मान्छे आए पनि बदल्नुपर्ने संस्कार हो नि ! त्यो समातेर बसेपछि त केही हुँदैहुँदैन । त्यसमा युवा भए पनि बुढो भए पनि के फरक पर्छ ?’ उनले प्रश्न गर्छन् ।
नेतृत्व हस्तान्तरणका सकस

कांग्रेसमा गिरिजासँग विद्रोह गरेर पार्टीको नेतृत्वमा उदाएका देउवापछि अरू पार्टीमा त्यस्तो बलियो पात्र उदाउन सकेका छैनन् । देउवा आफैँ पनि अहिले आफैँ लडेको प्रवृत्तिजस्तो भएका छन् । राजनीतिमा नयाँ व्यक्तिको उदय नहुनुमा चुनौतीसँगको डरलाई मुख्य कारण मान्छन्, पूर्वप्रधानमन्त्री चन्द । ‘अहिले फेरि देउवा प्रधानमन्त्री बन्नुभयो । अर्काे व्यक्तिलाई मौका दिउँ भनेर पार्टीमा समूहगत रूपमा जाने हिम्मत त कसैले गरेन,’ उनले भने ।
त्यसमा प्राध्यापक बरालको पनि उस्तै भनाइ छ । कुनै पनि दलका नयाँ व्यक्तिहरू पार्टीका प्रभावशाली नेताहरूको विरुद्धमा जान हिम्मत नगर्नु नै मुख्य समस्या हो । ‘अलिकति चुनौती लिएर नेताहरूको विरुद्धमा उठाइदिए हुने हो चुनावमा, दलको नेतृत्वमा । तर, यहाँ चुनौती दिन आएका अहिले वंशजको आधारमा दाबी गर्न आउने मात्रै छन् ।’
युवा नेता तथा सांसद रामकुमारी झाँक्री पुरानो शक्तिको आडमा नयाँ पुस्ताले शक्ति आर्जन गर्ने प्रवृत्तिले चामत्कारिक नेतृत्व उदाउन नसकेको बताउँछिन् । ‘करिस्मेटिक युवा नेता भयो भने पनि पुरानालाई क्रमशः विस्थापित गर्न सकिन्छ भन्ने मान्न सकिन्छ । तर, हाम्रोमा पुरानो पुस्ताको शक्तिमा आड लागेर आफूले शक्तिको अभ्यास गर्ने अवस्था भयो,’ झाँक्रीले नयाँ पत्रिकासँग भनिन्, ‘त्यसकारण नयाँ पुस्ताले चुनौती मोल्न पनि नचाहेको देखिन्छ । नेतृत्वलाई जति गाली गरे पनि अन्ततः उसैको संरक्षकत्वमा जाने र उसैबाट लाभ–हानिमा संलग्न भइन्छ ।’

ओलीको सत्ता बहिर्गमनसँगै माओवादीको वाइसिएलसँग जुध्न गठन गरेको युवा संघ फेरि निधारमा रातो फेटा गुतेर बिउँतिएको छ । माधव नेपाल पक्षको त्यसलाई काउन्टर दिन अखिल फोर्स नै जन्मिएको छ भने माओवादीको वाइसिएल ब्युँतिँदै छ । यी सबै संगठन युवालाई समेट्छन्, तर तिनको उद्देश्य डरलाग्दो छ । उनीहरू आफ्नो नेतृत्वमाथि प्रश्न गर्ने चुनौती दिँदैनन्, बरु दलका नेताहरूलाई टेवा दिन खटिन्छन् । युवाहरू नै आफ्नो नेतृत्वलाई चुनौती दिन नसक्नु नेतृत्व हस्तान्तरणको मुख्य समस्या भएको डा. पाण्डे बताउँछन् ।
‘अहिले सबैलाई मोलमलाई गर्नै रमाइलो भइरहेको छ । उनीहरू अहिले प्राप्त गरेका सबै उपलब्धि गुमाउने खतरा मोल्न नै चाहँदैनन् । राजनीति गर्ने भनेको शक्ति परिचालन गर्ने हो, तर यहाँ पुरानै गर्यो, गुटभित्रै रमायो, मन्त्री भयो पुग्यो,’ पाण्डेले भने ।
प्राध्यापक बराल नयाँ पुस्ता जाग्न नसकेको बताउँछन् । ‘नेतृत्व आफैँले सिर्जना गर्नुपर्यो । नयाँ पुस्ता भने पनि नेतृत्वमा पुर्याउन हिम्मत गरेको देखिन्न । अहिले एमालेमा भएका नयाँ पुस्ताले पुरानो शक्तिशाली व्यक्तिलाई झुकाउनै सकेका छैनन् । माधव र ओलीको निर्देशनअनुसार नै उनीहरू चलेका छन्, जे भन्यो त्यही मान्छन् । यस्तोमा त नयाँ नेतृत्व त निस्किँदैन,’ बरालले भने, ‘यो दक्षिण एसियामै उस्तै छ ।’
नेपालजस्तो देशमा युवा आफैँले पहल गरेर नेतृत्व हातमा लिने विषय सहज नभएको नेता झाँक्रीको बुझाइ छ । युवालाई नेतृत्व दिने प्रणाली विकास गरे मात्र शक्ति हस्तान्तरणको अभ्यास हुन सक्ने उनी बताउँछिन् ।
‘यहाँ सहज ढंगले नेतृत्व किस्तीमा हस्तान्तरण हुँदैन । हाम्रोजस्तो तेस्रो विश्व, प्रजातन्त्रको संस्थागत विकास अथवा उन्नत विकास नभएको मुलुकहरूमा संसारभरि नै यस्तै छ । त्यसैले नयाँ नेतृत्व आउन वा नयाँ नेतृत्वको मानक स्थापित हुन धेरै गाह्रो छ । त्यसैले, प्रणालीगत हिसाबले नेतृत्व हस्तान्तरणको व्यवस्था गर्नुपर्छ,’ नेता झाँक्री भन्छिन् ।
प्रध्यापक बराल पनि दल प्रणाली राम्ररी नचल्दा नेतृत्व हस्तान्तरणमा समस्या भएको बताउँछन् । ‘देशमा दल प्रणाली नै राम्ररी नचल्दा नेतृत्व हस्तान्तरणमा प्रभाव पारिरहेको छ । दलबाट मन्त्री बनेका छन् । पार्टीमा राम्रो पकड पनि छ, तर आफ्ना नेतालाई चुनौती दिने अवस्थामा उनीहरू अझै पुगेका छैनन्,’ बरालको विश्लेषण छ । तर, समाजशास्त्री मिश्र भने यस्तो संस्कृति बिस्तारै भत्किएर जानेमा भने आशावादी छन् । ‘अब यो बिस्तारै भत्किन्छ, रहिरहँदैन,’ उनले भने ।

नागरिक पनि उस्तै
हाम्रा दलमा अल्पतन्त्र हाबी हुनुमा नागरिकको पनि उत्तिकै दोष भएको पाण्डेको विश्लेषण छ । जति खराब काम गरे पनि र कामै नगरे पनि पटक–पटक निर्वाचित गराउनुले राजनीति विकृत भएको उनी बताउँछन् । ‘समाज नै यस्तो भइसक्यो । म बिहान उठेर के गर्ने थाहा हुनुपर्यो नि ! जति नै काम बिगारे पनि नेतालाई देख्नेबित्तिकै जनता माला लगाउन पुगिहाल्छन्,’ पाण्डेले भने ।
देशमा वैकल्पिक राजनीतिका लागि उपयुक्त पात्र नहुँदा जनता पुरानोबाट अगाडि बढ्न नसकेको प्राध्यापक बरालको बुझाइ छ । पाकिस्तानमा जुल्फिकर अली भुट्टो, भारतमा इन्दिरा गान्धी र ममता बेनर्जीले परम्परागत संस्थामा विद्रोह गरेर आफूलाई स्थापित गराए । तर, त्यस्तो नेतृत्व नउदाउनुमा जनतासँगको दूरी मुख्य कारक लाग्छ बराललाई ।
‘मतदाताले छान्न त अलिकति आकर्षण भएकोलाई छानेको देखिन्छ । तर, पुरानो पार्टीबाट नयाँतर्फ जान उनीहरू आश्वस्त छैनन् । जनतासँग भिजेको नेतृत्व आउनुपर्छ, नयाँ आएर मात्रै हुँदैन । काठमाडाैंमा बसेर म फलानोको छोरो भनेर बजारमा बेचेर खाइरहेका छन् । जनतामा जाने नेता आएनन्, त्यसैले वैकल्पिक राजनीति पनि आउन सकेन,’ बरालले भने ।