होलेसुङगढी र त्यस क्षेत्रमा भएको वन विनाशका घटनामा संलग्नहरूले जिल्लाका केही पत्रकारलाई प्रायोजित समाचार लेखाएको नेकपा (माओवादी केन्द्र) हलेसी तुवाचुङको आरोप छ । किराँत ऐतिहासिक धरोहर होलेसुङगढी र त्यस क्षेत्रका वन विनाशगरी खेलमैदान निर्माणमा संलग्न व्यक्तिको पक्षमा पत्रकारले प्रायोजित समाचार लेखेको माओवादी केन्द्रले विज्ञप्तिमार्फत आरोप लगाएको हो ।
खेलमैदान निर्माणको नाममा होलेसुङगढी तथा आसपासको वन क्षेत्र विनाश रोक्न स्थानीय बासिन्दाले हलेसीस्थित सबडिभिजन वन कार्यालय, दिक्तेलस्थित डिभिजन वन कार्यालय, अख्तियारलगायतका विभिन्न निकायमा गुहार मागेका थिए । वन विनाशमा संलग्न नगरप्रमुख इवन राईले स्थानीय सोझासीधा जनतालाई गैरकानुनी रूपमा पुरातात्त्विक महत्त्व बोकेको हलेसीगढी र त्यस क्षेत्रमा भएको वन विनाश गर्न प्रोत्साहन गर्दै केही प्रायोजित पत्रकारमार्फत सिंगाे नेकपा (माओवादी केन्द्र)पार्टीले अवरोध गरेको भन्ने भ्रामक र कपोलकल्पित समाचार लेख्न लगाएको माओवादीको आरोप छ ।
यस्ता खाले कानुनविपरीत गरिएका हर्कतलाई समाचारको माध्यमबाट थप सहयोग गरिनु सञ्चार आचारसंहिताविपरीत कार्य भएकाले आलोचित भई आधारहीन प्रकाशित/प्रसारित समाचार सच्याउन र आगामी दिनमा यस्ता खाले प्रायोजित समाचार प्रकाशन/प्रसारण नगर्न माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटी इन्चार्ज हस्तबहादुर राई ‘आमोद’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिएमा कानुनबमोजिम अगाडि बढ्ने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
गत वैशाख १९ गते नगरप्रमुख राईको अध्यक्षतामा बसेको बैठकले साबिक दुर्छिम गाविस वडा नम्बर १ को कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको जग्गामा खेलमैदान खन्ने नीतिगत निर्णय गरेको थियो । त्यसैको आधारमा स्थानीय विक्रम राईको अध्यक्षतामा गठित उपभोक्ता समितिले असार १३ गतेदेखि उक्त होलेसङगढीआसपास स्काभेटर प्रयोग गरेर खेलमैदान बनाउन थालेको थियो ।
दुर्छिमस्थित कोटगैरा (घुमाउनेचौंर)मा खेल मैदान निर्माणका क्रममा चौतर्फी विवाद भएपछि निर्माणको काम रोकिएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको रु ३० लाखमा सुरु गरिएको खेलमैदान निर्माणका क्रममा विवाद चुलिएको हो ।
‘एक स्थानीय तह एक खेलमैदान’ निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणाअनुसार नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको छ । जिल्ला मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौरमा खेलमैदान निर्माण सुरु गरेको थियो ।
ऐतिहासिक खुला संग्रहालय बनाउन प्रस्ताव गरिएको सो क्षेत्रमा नगर कार्यपालिकाको वैशाख १९ गतेको बैठकले खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो । सो स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर फुटबल, भलिबल, एथलेटिक्स, मार्सल आर्ट, ब्याडमिन्टनलगायत विभिन्न विधाका खेलकुद सञ्चालन गर्न मिल्ने गरी खेल मैदान निर्माणको काम सुरु गरिएको हो ।