घटना शंकास्पद भएको भन्दै सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरी प्रियंका भुजेलको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।
गत बुधबार नै मृतक किशोरीको शव पोस्टमार्टम भइसकेको भए पनि परिवारले शव बुझ्न नमान्दा चार दिनदेखि शव जिल्ला अस्पतालमै अलपत्र परेको छ । एक प्रहरी अधिकारीका अनुसार घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरी भुजेलको हत्या वा मृत्यु पत्ता लगाउने र दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने तथा पीडितलाई न्याय दिलाउने विश्वास दिलाउँदासमेत परिवारले शव नबुझेका हुन् ।
गत साउन ३१ गते राति घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका– १७, रानीगन्ज डाँडाटोल बस्ने राजेश भुजलेकी १६ वर्षीया छोरी प्रियंका भुजेलको गत मंगलबार राति कालिन्जोर खोलामा पुरेकाे अवस्थामा शव फेला परेको थियो । किशोरीको शव पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिब दुई सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घटनालगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाललाई पक्राउ गरिसकेको छ । मंगलबार दिउँसो छिमेकी जिल्ला महोत्तरीबाट पक्राउ परेका ती दुई युवकले दिएको जानकारीअनुसार नै किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई युवकविरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यता आफन्तले युवतीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै बुधबार लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग दुई घन्टा अवरुद्ध पारेका थिए । घटनाको थप अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्र युवतीको मृत्युको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ ।