केही सञ्चारमाध्यमहरूले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। भ्रामक र तथ्यहीन समाचार प्रकाशन/प्रसारण गरेर गृह प्रशासनको बदनाम गर्न खोजेको भन्दै बिहीबार गृहले विभिन्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराउँदै विज्ञप्ति जारी गरेको हो।
‘रचनात्मक पत्रकारिता शासन र सुशासनको ऐना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता रचनात्मक समाचार र टिप्पणी मन्त्रालयको लागि सदैव पृष्ठपोषणका रूपमा रहन्छन्। तथ्यहीन र भ्रामक सूचना तथा समाचारले आमसुरक्षा व्यवस्था र राज्यको सुरक्षा प्रणालीमा समेत नकारात्मक असर पार्दछ,’ विज्ञप्तिमा भनिएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पछिल्लो समय प्रहरी, जिल्ला प्रशासन कार्यालय र गृहको विषयमा नकारात्मक समाचार प्रकाशन भएपछि एकमुष्ट खण्डन गरिएको बताए। उनले भने, ‘पछिल्लो समय केही भ्रामक समाचार आए, जसले शान्ति सुरक्षामा असहज र अप्ठ्यारो बनाउने देखियो।’