काबुल विमानस्थलमा १२ जनाको मृत्यु भएको तालिवानको दाबी

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा कम्तीमा १२ जनाको मृत्यु भएको तालिवानका एक अधिकारीले दाबी गरेका छन्। विमानस्थलमा अमेरिकी सेनाले चलाएको गोली लागेर र भागदौडमा परी कम्तीमा १२ जनाले ज्यान गुमाएका बताइएको छ।

नाम नबताउने सर्तमा ती अधिकारीले यस्तो बताएका समाचार संस्था रोयटर्सलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमेरिकी वायुसेनाले पनि विमानस्थलमा सोमबार केही मानिसको मृत्यु भएको जनाएको थियो। मृतकको यकिन संख्या नबताए पनि उनीहरूले यसबारे छानबिन अघि बढाएको बताएका थिए। सोमबार विमानस्थलमा भिड नियन्त्रण गर्न भन्दै अमेरिकी सेनाले गोली चलाएको थियो भने विमानको चक्कामा झुन्डिएर यात्रा गर्न खोज्दा केही मानिस विमानबाट खसेका थिए।

आफूहरूले कसैलाई क्षति पुर्याउन नचाहेको भन्दै तालिवानले वैध दस्ताबेजविना विमानस्थल प्रवेश नगर्न आग्रह गरेको छ। अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि विमानस्थलमा अफगानिस्तान छाड्न चाहनेहरूको भिड बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सुझावित समाचार