शुक्रबारसम्म अफगानिस्तानबाट एक हजार नेपाली फर्किने

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

मंगलबार बिहान एक सय १८ र राति ८४ जना तथा बुधबार बिहान ६१ र अपराह्न २५ नेपाली स्वदेश फर्किएका छन्

अफगानिस्तानको काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसन कार्यालय र युनिसेफ कार्यालयको सुरक्षाका लागि खटिएका चार सय ७० जना तथा गैरकानुनी रूपमा त्यहाँ पुगेकाबाहेक नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । ग्रिन जोनमा कार्यरत करिब हजारजना नेपालीमध्ये शुक्रबारसम्म सबैले काबुल छाडिसक्नेछन् । 

बुधबार साँझसम्म दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् भने आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न कूटनीतिक नियोगसँग निरन्तर प्रयास र समन्वयमा बुधबार ८६ जना र मंगलबार दुई सय चारजना आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक फर्कने प्रक्रियामा हुनुहुन्छ,’ परराष्ट्रद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । 

मंगलबार बिहान एक सय १८ जना र राति ८४ जना तथा बुधबार बिहान ६१ जना र अपराह्न २५ जना स्वदेश आइसकेका हुन् । स्वदेश आएका सबैजनालाई अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा कोभिड– १९ को परीक्षणसहित आवश्यक व्यवस्था गरिएको परराष्ट्रले जनाएको छ । 

परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेबसाइटमा बुधबार साँझ ५ बजेसम्म दुई सय ९६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । यीमध्ये १६ जना आइसकेका छन् भने बाँकी दुई सय ८० जना आइपुगेका छैनन् । यीमध्ये कति नागरिकले काबुल छाडेको र कति त्यहीँ रहेको भन्ने यकिन छैन ।

‘कागजपत्र भएका र काममा लागेका नेपालीले सम्बन्धित कूटनीतिक नियोगको व्यवस्थापनमा काबुल छाडिसक्नुभएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘गैरकानुनी रूपमा बसेका नागरिकको संख्या शुक्रबारसम्म यकिन हुनेछ र त्यसपछि उद्धारको पहल हुनेछ । अहिले नाम टिपाएकाको संख्या गैरकानुनी रूपमा बसेकाहरूको संख्या हो कि उद्धारका क्रममा रहेकाहरूको संख्या हो भन्ने स्पष्ट छैन ।’ तस्बिर : रासस

सुझावित समाचार