संसद् र संविधान बचाउनका लागि बनेको देउवा सरकार एमाले विभाजनमा लाग्नु दुर्भाग्य : भीम आचार्य

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

एमाले सचिव भीम आचार्यले संसद् र संविधान बचाउनका लागि बनेको भनिएको देउवा नेतृत्वको सरकार एमाले विभाजन गर्न लाग्नु दुर्भाग्य भएको बताएका छन् । उनले एमाले विभाजनकै लागि विभाजनकारी अध्यादेश ल्याउने दुष्कर्ममा लाग्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आचार्यले  प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद्, संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउनका लागि गरिएको भन्दै पार्टी विभाजन गर्नको लागि नभएको बताए । एमाले विभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धिहरूलाई कमजोर पार्ने र अग्रगमनको यात्रामा गम्भीर धक्का दिने उनको ठहर छ  । 

लोकतन्त्र,संविधान र स्थायित्वलाई कमजोर पार्ने सबै खाले प्रतिक्रियावादीहरूको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएकाले तुरुन्तै फिर्ता लिनुपर्ने उनको माग छ । पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन उनले  सबै नेता तथा सांसदहरूलाई तथा विभाजन रोक्न भनी गरिएका कारबाही  फिर्ता लिन पार्टी नेतृत्वलाई अपिलसमेत गरेका छन् । 

विभाजनले सबै न्यायप्रेमी जनतालाई दुःखी र प्रतिक्रियावादीहरूलाई खुसी पार्ने भन्दै उनले  पार्टी विभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको विरोध गर्न र पार्टी एकताको पक्षमा दृढतापूर्वक लाग्न सम्पूर्ण नेता, कार्यकर्ता र आमजनसमुदायलाई अपिल गरे । 

सुझावित समाचार