नेपाल सरकारले अफगानिस्तानमा तालिवान नियन्त्रणपछिको अवस्थाबारे पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा सार्कको सदस्य मुलुक अफगानिस्तानका जनताको प्रगति र समुन्नतिका लागि शान्ति र स्थायित्व सुनिश्चित होस् भन्ने नेपालको चाहना उल्लेख गरिएको छ ।
‘नेपाल सरकारले अफगानिस्तानमा भएका विकासक्रमलाई नजिकबाट नियाल्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बन्धित सबै पक्षलाई जनताको भलाइ र सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछौँ ।’
नेपालले देश छाड्न चाहेकाहरू सबैको सुरक्षित र क्रमबद्ध बाह्यगमनको सम्मान र सहजीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानलाई समर्थन गरेको छ । सडक, विमानस्थल तथा सीमापार गरेर बाहिर जान चाहनेहरूलाई सहजीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गर्दै आएको छ ।
जनजीवन र सम्पत्तिको सुरक्षा, शान्ति स्थापना, स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको चासो र चिन्तालाई नेपालले समर्थन गरेको परराष्ट्रले जनाएको छ ।