अफगानिस्तानस्थित अमेरिकन दूतावासमा कार्यरत बर्दियाका पर्शुराम चौधरीलाई घरपरिवारले फोन गरेर साह्रै अत्याइरहेका थिए। अफगानिस्तानमा आतंकको दृश्य सञ्चारमाध्यममा देखेका उनका परिवारले दिनकै चिन्ता लिन थालेपछि उनीलाई कतिवेला घर पुगौँ भयो। उनीसहित एक सय १८ नेपाली अमेरिकन दूतावासमा कार्यरत थिए। तालिवालने काबुल नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली बेचैन थिए। सबैले घर फर्कन भन्दै दूतावाससँग अनुमति मागे।
दूतावासले नेपाल पठाउनुअघि उनीहरू सबैको पिसिआर परीक्षण गर्यो। अगस्ट १५ तारिख बिहान उनीहरूलाई दूतावासले कतार पुर्यायो। त्यहाँबाट कुवेत । मंगलबार दिउँसो उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन्। यहाँ आइपुग्दा केही शान्त देखिए पनि उनीहरूमा त्यहाँको त्रासले भने छोडेको थिएन । दूतावासले नै चार्टर जहाजमा उनीहरूलाई काठमाडौं ल्याएको थियो। ‘हामीलाई त्यतिसाह्रै खतरा त थिएन, तर घर फर्कन मन लागिरहेको थियो,’ पर्शुरामले नयाँ पत्रिकासँग भने, ‘हामी त एउटा कम्पाउन्डभित्र थियौँ, तर बाहिरी दृश्य हेर्दा कतिवेला घर फर्कन पाइएला भन्ने भइरह्यो।’
तर, त्यहाँ रहेका नेपालीहरू धेरै नै असुरक्षित रहेको पर्शुरामको भनाइ छ। अमेरिकन सेनाका कारण आफूहरू सुरक्षित रहेको भए तापनि अन्य नेपाली असुरक्षित रहेकोले सरकारले त्यसतर्फ चासो दिनुपर्ने उनको भनाइ छ। ‘अमेरिकन सेनाले हामीलाई सुरक्षा दिइरहेको थियो, तर कतिपय नेपाली सडकमा चिच्याइरहेका पनि देखिए, उनीहरूको छिटो उद्धार होस्,’ उनले भने।

तालिवानले मच्चाएको आतंक देखेर दूतावासमा कार्यरत नेपाली आत्तिन थालेका थिए। उनीहरू सकेसम्म छिटो घर पुर्याइदिन भन्दै अनुरोध गरिरहेका थिए। अफगानिस्तान नयाँदिल्लीस्थित नेपाली दूतावासले हेर्छ। उनीहरूले त्यहाँ पटक–पटक अनुरोध गरे। तर, दूतावासले चासो नदिएको उनीहरूको भनाए छ। उनीसँगै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका पोखराका रमेश गुरुङ पनि युद्धरत भूमिबाट जन्मभूमिमा टेक्न पाउँदा निकै खुसी थिए। ‘त्यहाँ हामीलाई बस्ने सुविधा राम्रो थियो, त्यतिसाह्रै जोखिममा पनि थिएनौँ, तर त्यहाँको बाहिरी आतंक देख्दा कताकता डर लागिरह्यो,’ उनले सुनाए, ‘अमेरिकन दूतावासले हामीलाई सुरक्षित नै ल्यायो।’
भोजपुरका विशाल राईले अफगानिस्तानमा निकै त्रासपूर्ण अवस्था रहेको बताए। उनले सर्वसाधारण र बाहिरी देशका नागरिकहरू बढी असुरक्षित रहेको जानकारी दिए। ‘हामी बसेको ठाउँमा त्यति असुरक्षा थिएन, तर बाहिरी क्षेत्रमा निकै असुरक्षा र तनाव छ, त्यहाँ भएका सबै नेपाली छिटोभन्दा छिटो घर फर्कन चाहन्छन्,’ उनले भने, ‘सरकारले छिटो पहल गर्न आवश्यक छ।’
अफगानिस्तानमा तालिवानले आतंक मच्याएपछि अधिकांश देशले आफ्ना नागरिकलाई उद्धार गरिसकेका छन्। तर, नेपालले भने आफ्ना नागरिक उद्धारमा ढिलाइ गरेको तनहुँका हुमबहादुर गुरुङको भनाइ छ। उनले भने, ‘आफ्ना नागरिकको चिन्ता आफ्नो देशलाई हुन्छ, तर हामीलाई नेपाल सरकारले उद्धार गरेको होइन, अमेरिकन एम्बेसीले नै सुरक्षित ल्याएको छ, नेपाल सरकारले त्यहाँका अन्य नेपालीको छिटो उद्धार गर्न आवश्यक छ।’
अफगानिस्तानमा तालिवानलाई सबैभन्दा खतरा मानिने भएकाले पनि आफूहरू आत्तिएको सुनाए। उनीसँगै फर्किएका गोमानसिंह गुरुङले पनि आफूहरू निकै असुरक्षित ठाउँबाट फर्किएको बताए। उनले आतंकवादले अफगानिस्तानको जनजीवन तर्साइरहेको सुनाए। ‘हामीलाई खतरा त थिएन, तर त्यहाँको खतरा देख्दा नेपाल फर्कन मन लाग्यो,’ उनले भने, ‘अन्य नेपालीहरूलाई सरकारले छिटो उद्धार गरोस्।’
मंगलबार युएस एम्बेसीमा कार्यरत एक सय १८ जना नेपाली र आठजना भारतीयलाई दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडेर फर्किएको छ। विमानस्थलबाट नेपाली सेनाले सामाखुसी लगेर क्वारेन्टिनमा राखेको छ। उनीहरूको एन्टिजेन परीक्षण भइरहेको छ। रिपाेर्टपछि उनीहरूलाई घर पठाइने बताइएको छ।