जर्मनीका लिजेन्ड फुटबलर मुलरको निधन

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

जर्मन फुटबलका लिजेन्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । मुलर सन् २०१५ देखि अल्जाइमर रोगबाट पीडित थिए । अन्ततः यही रोगका कारण आइतबार उनको निधन भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

विश्व फुटबल इतिहासकै एक उत्कृष्ट स्ट्राइकरका रूपमा चिनिने मुलरले जर्मनी एकीकरणअघि पश्चिम जर्मनीबाट ६२ खेलमा ६८ गोल गरेका थिए । सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सविरुद्ध मुलरले विजयी गोल गर्दै पश्चिम जर्मनीलाई च्याम्पियन बनाएका थिए । 

बुन्डेस लिग फुटबल प्रतियोगिता मुलरले १५ वर्ष सिजन बिताएका थिए । मुलरले बायर्नबाट ६ सय ७ खेलमा पाँच सय ५२ गोल गरेका थिए । बायर्न म्युनिखका अध्यक्ष हर्बट हैनेरले बायर्नको फुटबल इतिहासमा आइतबार कालो दिन भएको बताएका छन् । ‘हामी बायर्नहरूका लागि आजको दिन कालो हो,’ बायर्नका अध्यक्ष हैनेरले भने, ‘एक फुटबल समर्थकका रूपमा उहाँलाई धेरै मिस गर्नेछु ।’ जर्मन फुटबलले प्राप्त गरेका खेलाडीमध्ये मुलर सर्वोकृष्ट भएको उनको भनाइ छ । 

‘जर्मनीमा धेरै फुटबल खेलाडी जन्मिए, तर मुलरजतिका उत्कृष्ट खेलाडी छैनन्,’ उनी भन्छन्, ‘एक खेलाडीका रूपमा मुलर असाध्य अनुशासित हुनुहुन्थो, उहाँ एकदम भलाद्मी मान्छे हुनुहुन्थो ।’ मुलरविना अहिलेको बायर्न म्युनिख कल्पना गर्न नसकिने अध्यक्ष हैनेरले जनाएका छन् । 

सन् १९७० को दशकमा मुलरले करिअरकै उत्कृष्ट खेल खेलेका थिए । यो समयमा उनले जर्मनीलाई विश्वकप च्याम्पियन मात्र बनाएनन्, बालोन डिअर उपाधिसमेत जिते । सन् १९७० को विश्वकपमा मुलरले दश गोल गरेका थिए । मुलरले पश्चिम जर्मनीलाई युरोपियन च्याम्पियन बनाउने क्रममा सोभियत युनियनविरुद्ध फाइनलमा दुई गोल गरेका थिए ।

See More On

सुझावित समाचार