तालिवानले अफगानिस्तानमा काबुलबाहेक कुन कुन सहर नियन्त्रणमा लियो?

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको सरकारविरुद्ध युद्धरत चरमपन्थी संगठन तालिवानले देशका अधिकांश सहरहरू नियन्त्रणमा लिएको छ।  तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण  कब्जामा लिएको छ। यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।

तालिवानले गत शुक्रबार अफगानिस्तानको व्यापारिक केन्द्र तथा दोस्रो ठूलो सहर कन्दाहारलाई र बिहीबार तेस्रो ठूलो सहर हेरातलाई कब्जामा लिएको थियो। अमेरिकी सेनाले पनि कन्दाहारलाई आफ्नो सैन्य क्रियाकलाप सञ्चालन गर्ने केन्द्रको रूपमा प्रयोग गर्दै आइरहेको थियो। विशेष रणनीतिक क्षेत्र कन्दाहारलाई कब्जामा लिनु तालिवानको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता  भएको र अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको अधिकारीहरूले बताएका थिए। 

यसअघि तालिवानले अगस्ट ६ मा जरन्ज, अगस्ट ७ मा शेबरघान, सार–ए–पल, कुन्दुज र तल्क्वान अगस्ट ८ मा कब्जा गरेको थियो। त्यसैगरी अगस्ट ९ मा फराह, अगस्ट १० मा पल–ए–खुम्री, अगस्ट ११ मा फैजवाद, अगस्ट १२ मा घज्नी र हेरात, अगस्ट १३ मा कन्दाहार र लस्कर गह नियन्त्रणमा लिएको थियो। अगस्ट १३ मा नै कल–ए–न, फेरुज कोह, पल–ए–अलम, तेराकोट र कलातजस्ता सहरहरू कब्जामा लिएको थियो। 

अमेरिकाले आफ्नो सेना फिर्ता लाने निर्णय गरेसँगै गत मे महिनादेखि तालिवानले तीव्र गतिमा शृंखलाबद्ध रूपमा आक्रमण गर्दै अफगानिस्तानका मुख्य सहरहरू कब्जामा लिँदै आएको छ। हालसम्म ३४ प्रान्तमध्ये तालिवानले २३ वटा प्रान्तीय राजधानीहरू कब्जा गरिसकेको छ।  

तालिवान नियन्त्रण क्षेत्रको अवस्था कस्तो छ ?  
तालिवान नियन्त्रण क्षेत्रहरूमा महिलाहरूलाई बुर्का लगाउन भनिएको छ। अविवाहित महिलाहरूलाई तालिवानी लडाकुहरूसँग बिहे गर्न भनिएको छ। तालिवानले जारी गरेको नियम उल्लंघन गर्नेहरूलाई भौतिक रूपमा कारबाहीसमेत गरिएको बताइएको छ। मानिसहरूलाई रकेट लन्चर र ग्रिनेडहरू बोक्नसमेत निर्देशन दिइएको छ।
तालिवानले कब्जा गरेका क्षेत्रहरूबाट मानिसहरू काबुलतर्फ गइरहेका छन्। हालसम्म तालिवान नियन्त्रित विभिन्न क्षेत्रहरूबाट करिब दुई लाख पचास हाजार मानिसहरू भागेर काबुल पुगेको अनुमान गरिएको छ।
 

सुझावित समाचार