रानीवन पहिरोले सिंगो लापिलाङ गाउँ नै जोखिममा, दुई दर्जन परिवारको उठिबास
पहिरोले क्षतिग्रस्त बनेको दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पीडितलाई कांग्रेस सांसद जिपछिरिङ लामाले आवश्यक राहत सहयोग उपलब्ध गराएका छन् । एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको रानीवन पहिरोका कारण आफ्नो जायजेथा गुमाएका लापिलाङका एक सय ५० परिवारलाई सांसद लामाले निजी खर्चमा राहत सहयोग वितरण गरेका हुन् ।
लामाले एक सय ५० परिवारलाई प्रतिपरिवार एक बोरा चामल, पाँच केजी दाल, एक लिटर तेल, नुनलगायतका खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । शनिबार दोलखा कांग्रेसका नेताहरूले लापिलाङ पुगेर पीडितहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री वितरण कार्यक्रममा बोल्दै दोलखा कांग्रेसका दुई सचिवहरू सन्तोष रिमाल, बालकृष्ण आचार्य र कालिञ्चोक गाउँपालिका सभापति अर्जुन सिवाकोटीलगायतले तत्काल पीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
झन्डै दुई दर्जन परिवारको उठिबास

पहिरोका कारण लापिलाङका विस्थापित नागरिक राहतको पर्खाइमा
एक वर्षदेखि लगातार आएको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिबास लागेको छ । गत वर्षको असारदेखि झरेको पहिरो क्रमश: फैलिँदै गएपछि लापिलाङका विभिन्न बस्तीहरूसमेत जोखिममा परेका छन्।
पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १० घरपरिवारको उठिबास नै लाग्यो । अहिले पनि झन्डै १५ घरपरिवारको उठिबास नै हुने गरी पहिरोले कटान गरिरहेको र थप परिवार विस्थापित बनेको कालिञ्चोक गाउँपालिका- ५ का वडाध्यक्ष सुवास थामीले जानकारी दिए ।

राहत लिएर खुसी हुँदै घर फर्कँदै गरेकी पहिरोपीडित महिला
उनका अनुसार रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मकाे बस्तीमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीयहरू जेठ अन्तिमदेखि नै घर छोडेर अन्यत्र कष्टकर रूपमा बसोवास गरिरहेका छन् ।
तीन किलोमिटर लामो ठाडो पहिरो, दिनहुँ कटान हुँदै

पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको वडाध्यक्ष थामी बताउँछन् । सामान्य वर्षा हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीयको गुनासो छ ।
पहिरोले तल्लो भागबाट दिनहुँ कटान गर्दै लगेको वडाध्यक्ष थामीले बताए । उनले भने, ‘पहिरोले तल्लो भागबाट व्यापक कटौती गर्दै लगेको छ, यही रफ्तारमा तान्दै जाने हो भने केही दिनभित्रै सुनखानी–साङ्बा सडकसमेत अवरुद्ध हुनुका साथै माथिल्लो बस्ती नै बगाउनेछ ।’
संसदमा ध्यानाकर्षण

शानिबार राहत सामग्री सहयोग गरेका कांग्रेस नेता जिपछिरिङ लामाले बिहीबार सदनमै लापिलाङ पहिरोकोबारेमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । नयाँ पत्रिकासँग कुरा गर्दै लामाले भने, ‘व्यक्तिगत रूपमा प्रधानमन्त्रीज्यूसँग पनि कुरा गरेको छु, सदनमा पनि आवाज उठाएँ । अब विपत् प्राधिकरणलगायतका निकायहरूसँग समन्वय गरेर बस्ती स्थानान्तरणका लागि पहल गरिनेछ ।’