अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो डोज खोप दिन अनुमति दिएको छ। संघीय सरकारमातहतको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)ले बिहीबार कोरोना भाइरसविरुद्ध प्रयोग गरिने मोडर्ना र फाइजर–बायोएनटेक भ्याक्सिनको तेस्रो डोजको आपतकालीन प्रयोग गर्न सकिने अनुमति दिएको हो।
एफडिएका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरेर नियममा यस्तो परिवर्तन गरिएको हो। यो परिवर्तनसँगै खोपको पूरा डोज लिएर पनि रोग प्रतिरोधात्मक शक्ति पर्याप्त रूपमा विकसित नभएकाहरूले तेस्रो डोज पनि लिन पाउने भएका हुन्।
विशेषज्ञहरूका अनुसार तेस्रो डोजले कमजोर प्रतिरोधात्मक क्षमता भएका मानिसहरूमा पनि सामान्य अवस्थामा रहेका मानिसहरूको जस्तै रोग प्रतिरोधात्मक क्षमता विकसित गर्छ।
रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार अमेरिकाका २.७ प्रतिशत वयस्कहरूमा प्रतिरोधात्मक क्षमता कमजोर रहेको अनुमान छ। प्रतिरक्षा शक्ति कमजोर हुनेमा अंग प्रत्यारोपण गराएका, क्यान्सरका बिरामीहरू र एड्सबाट संक्रमितहरू छन्।