कम्बोडियामा चीन र कम्बोडिया सरकारले निर्माण गरेको एउटा जलविद्युत् परियोजनाका कारण पीडित भएका जातीय अल्पसंख्यक समुदायलाई दिइएको मुआब्जा तथा क्षतिपूर्ति प्याकेजबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले चासो व्यक्त गरेको छ।
ह्युमेन राइट्स वाचले हालै तयार गरेको १३८ पृष्ठ लामो अध्ययन प्रतिवेदनमा अल्पसंख्यक जातिलाई मुआब्जा रकम थप्नुपर्नेमा जोड दिइएको छ। तीन वर्षअघि सम्पन्न भएको परियोजनाको मुआब्जा विवाद अहिले पनि उठिरहेको छ।
‘अन्डरवाटर : ह्युमेन राइट्स इम्प्याक्ट्स अफ अ चाइना बेल्ड एन्ड रोड प्रोजेक्ट इन कम्बोडिया’ नामको प्रतिवेदनमा वाचले कम्बोडियाको सरकार र चीन सरकारको कम्पनी हुवानेङ कम्पनीले तल्लो सेसाङ दोस्रो बाँध निर्माणका क्रममा अल्पसंख्यक जनजातिहरूको सरोकार सम्बोधन नगरेको उल्लेख गरेको छ। ह्युमेन राइट्स वाच एसिया एड्भोकेसीका निर्देशक जोन सिफ्टनले भनेका छन्, ‘बाँधले स्वदेशी र अल्पसंख्यक जातीय समुदायलाई गम्भीर असर पारेको छ। पहिलो उनीहरू त्यहाँ माछा मार्ने, वन संरक्षण गर्ने र कृषि कर्म गर्थे र आत्मनिर्भर थिए। अहिले परनिर्भरता थपिएको छ।’
यो पूर्वोत्तर कम्बोडियाको परियोजना हो। बाँधको तल्लो भेगमा रहेका बुनाङ, ब्राओ, कुओ, लाओ, जराई, क्रेउङ, केवेट, टाम्पुआन र कचोक समुदायका बासिन्दाको बसोवास छ। प्रतिवेदन तयार गर्ने सिफ्टोनका अनुसार कतिपयले त अपर्याप्त मुआब्जा रकम पनि स्वीकार गर्न बाध्य भए र दयनीय अवस्थाकै भए पनि आवास स्वीकार गर्न बाध्य भए। उनले भने, ‘कम्बोडियाका अधिकारीले यो परियोजनाका सन्दर्भमा मुआब्जा, पुनर्वास र उनीहरूको जीवननिर्वाहको तरिकाका सन्दर्भमा पुनः विचार गर्नुपर्ने आवश्यकता छ। भविष्यमा बन्ने परियोजनाहरूले उनीहरूजस्ता मानिसहरूको जीवन निर्वाहमाथि यस्तो खेलवाड नगरुन्।’ तर, कम्बोडियाका सरकारी अधिकारीले भने जनजीवन पूरै प्रभावित भएको भन्ने ह्युमेन राइट्स वाचको प्रतिवेदनको खण्डन गरेका छन्। बरु, उनीहरूले तल्लो तटीय क्षेत्रका मानिसले रोजगारको अवसर पाएको जिकिर गरेका छन्।
ह्युमेन राइट्स वाचले ६० जनाभन्दा बढी समुदायका सदस्य, सरोकारवालाहरूसँग कुराकानी गरेर प्रतिवेदन तयार गरेको थियो। त्यसक्रममा प्राज्ञिक प्रतिवेदन र सरोकारवालाहरूका विवरण समेटेर प्रतिवेदन तयार गरेको वाचले जनाएको छ। कुल ७८ करोड २० लाख अमेरिकी डलरमा परियोजना तीनवर्षअघि नै सम्पन्न भएको छ, तर मुआब्जा विवाद अहिले पनि जारी छ। परियोजनाबाट करिब पाँच हजारजना विस्थापित भएका थिए।