लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको गठबन्धनबाट केसी मुख्यमन्त्री बनेका हुन् । केसीले ४२ जना सांसदको समर्थनसहित बिहीबार नै मुख्यमन्त्री दाबी गरेका थिए । लुम्बिनी प्रदेश सभामा हाल ८० सांसद छन्, बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ ।
एमाले संसदीय दलका नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।
को हुन् मुख्यमन्त्री केसी ?
विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा अगाडि सारिएका कुलप्रसाद केसी माओवादी केन्द्रका नेता हुन्। उनी मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
०२७ साल माघ १० गते रोल्पामा जन्मिएका उनी ०४६ सालदेखि ०४८ सालसम्म विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए।
उनी ०४८ देखि ०५० सम्म स्थायी शिक्षक, ०५० देखि ०५२ सम्म नेकपा एकता केन्द्र रोल्पा इलाका सेक्रेटरी हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन्। त्यसयता उनले माओवादीले सञ्चालन गरेको जनयुद्धमा डिभिजन कमिसारको भूमिकादेखि पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्यलगायतको जिम्मेवारीमा रहेर काम गरे। पार्टीको जिम्मेवारीका अतिरिक्त हाल माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेताका रूपमा केसी रहेका छन्।