अर्थमन्त्रीको प्रस्टोक्ति : श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह छैन

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्। बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए। उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको प्रस्ट पारे। यसमा कुनै आग्रहको गन्ध नभेटिने उनको भनाइ थियो।

‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह–पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कतिवटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पुँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रस्तुत गरेकाे छु, प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ, कतै डेटामा फर परेको रहेछ भने कतै पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन्छु, कुनै आग्रह–प्रर्वाग्रह छैन, भएका–गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु,’ उनले भने।

बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापनजस्ता कुरा संसदले गर्ने उनले बताए। आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पारे।

‘बजेट अध्यादेशमार्फत नल्याउनुपर्थ्यो ल्याइयो, तैपनि सरकारको निरन्तरताका कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ, यहाँहरूले गर्नुहुनेछ, त्यसलाई संशोधन, परिमार्जन, प्रतिस्थापनका कुरा संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन,’ उनले भने। 

उनले राष्ट्रिय गौरवका योजनाहरू निरन्तर रूपमा अघि बढिरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा व्यक्त गरे। शर्माले मानव सूचांक विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताए। 
 

सुझावित समाचार