कर्णालीका चार नेतालाई माधव नेपालले भने– उपनिर्वाचन भयो भने तपाईंहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ (भिडियोसहित)

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरूलाई पुनः जिताएर ल्याउने बताएका छन् । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा नेता नेपालले कर्णालीका आफूपक्षीय नेताहरूले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै उपनिर्वाचनमा जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताएका हुन् । 

उनले कर्णालीका नेताहरूको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गरे । उनले भने, ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो कि उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरूको प्रदेश सभाको सदस्यता धरापमा छ । र, मैले भनिसकेको छु– तपाईंहरूको सदस्यता धरापमा छ भने, यदि तपाईंहरूको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईंहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईंहरू दृढताका साथ अगाडि बढ्नुस् । हामी साथमा छौँ ।’

नेपालले आफूहरू कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि बताए । आफूहरू दृढताका साथ अगाडि बढ्ने उनको भनाइ छ । उनले भने, ‘हामी अगाडि बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अँध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौँ ।’ 

उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर आफूहरू अगाडि बढ्ने बताए ।
 

सुझावित समाचार