रसुवाका दुई गाउँपालिकामा १८ वर्षमाथिका सबैले लगाए पहिलो खोप

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

भदौभित्र १८ वर्षमाथिका सबैलाई कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य

रसुवाका दुईवटा गाउँपालिकामा १८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । जिल्लाको आमाछोदिङमाे र गोसाइँकुण्ड गाउँपालिकाका १८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका हुन् । 

जिल्लाको आमाछोदिङमाे र गोसाइँकुण्ड गाउँपालिकाका १८ वर्षमाथिका सबै योग्य नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । 

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार गोसाइँकुण्ड गाउँपालिकामा आठ हजार ६ सय १८ जनसंख्या रहेको छ । जसमध्ये १८ वर्षमाथिका काेरोनाको खोप लगाउन योग्य व्यक्ति पाँच हजार ६ सय ८१ जना रहेका छन् । 

जसमध्ये एक हजार दुई सय ९५ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् । त्यसैगरी पाँच हजार दुई सय ५१ जनाले भेरोसेलको पहिलो मात्राको खोप लगाएका छन् ।  दुई सय ३७ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार गोसाइँकुण्ड गाउँपालिकामा लक्ष्यभन्दा बढी एक हजार एक सय दुईजनालाई कोरोनाको पहिलो मात्राको खोप लगाइएको छ । 

यसैगरी जिल्लाको आमाछोदिङमाे गाउँपालिकामा पाँच हजार सात सय ३३ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका काेरोनाको खोप लगाउन योग्य व्यक्ति तीन हजार पाँच सय २३ जना रहेका छन् । जसमध्ये तीन हजार चार सय ९८ जनालाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाइएको छ । तीन सय ६२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने दुई हजार आठ सय ७३ जनाले भेरोसेलको पहिलो मात्राको खोप लगाएका छन् । यसैगरी दुई सय ६२ जनाले जोन्सन एन्ड जोन्सनकाे खोप लगाएका छन् ।

गाउँपालिकामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउने यो ९९ दशमलव २९ प्रतिशत हो । अब २५ जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । बाँकीलाई पनि छिट्टै  खोप लगाइने उनको भनाइ छ । 

यस्तै, जिल्लाको कालिका गाउँपालिकामा ५५ दशमलव ८५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । नौकुण्ड गाउँपालिकामा ४१ दशमलव ५५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् ।  उत्तरगया गाउँपालिकामा ५४ दशमलन आठ प्रतिशलले कोरोनाविद्धको पहिलो मात्राको खोप लगाए । 

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार नाै सय ७७ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार एक सय ६ जना रहेका छन् । जसमध्ये हालसम्म ६९ दशमलव ३० प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप तीन हजार दुई सय ८० जनाले पाएका छन् भने १४ हजार आठ सय ९२ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् ।

यसैगरी, जिल्लामा कोरोनाविरुद्धको दोस्रो मात्राको खोप २२ दशमलव ८८ प्रतिशतले लगाएका छन् । दोस्रो मात्राको कोभिसिल्ड खोप एक हजार ३० जनाले लगाएका छन् भने तीन हजार ६ सय ३२ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । यस्तै, एउटा मात्र खाेप लगाए हुने जोन्सन एन्ड जोन्सन दुई हजारलाई लगाइएको  छ  ।  जिल्लामा आगामी भदौभित्र १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । 

२७ फागुन ०७७ मा कोरोनाविरुद्धको कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकहरुले दोस्रो डोजको खोप पाउने भएका छन् । रसुवाका ६५ वर्षमाथिका करिब दुई हजार एक सय ज्येष्ठ नागरिक कोभिसिल्डको दोस्रो खोपको पर्खाइमा छन् । आठ हप्तादेखि १२ हप्तासम्ममा खोप लगाइसक्नुपर्ने भनिएको थियो । तर, कोभिसिल्ड खोप लगाएको १८ हप्ता पूरा हुँदासमेत दोस्रो डोजको खोप पाउन सकेका थिएनन् ।

अब उनीहरूले  एस्ट्राजेनेकाको खोप पाउने भएका छन् । त्यसका लागि सोमबार एस्ट्राजेनेकाको  दुई हजार दुई सय ४० डोज खोप जिल्लामा आइपुगेको छ । मंगलबार सबै खोप केन्द्रमा खोप पठाइने र बुधबारदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख चालिसेले बताए । उनले भने, ‘जिल्लामा एस्ट्राजेनेकाको खोप आइपुगेको छ, अब जिल्लाको पाँचवटै गाउँपालिकाका खोप केन्द्रहरूमा खोप पठाउछौँ, र त्यहीँबाट बुधबारदेखि लगाउन सुरु गर्नेछौँ ।’

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार