इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ । वाग्लेको दुर्घटनामा परी गएराति निधन भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । वाग्लेलाई इलाका प्रहरी कार्यालय बर्दघाट चौकीदेखि करिब दुई सय मिटरपूर्व राजमार्गमा पैदल हिँड्दै गर्दा सोमबार राति ८ बजेतिर लु.१४प ७५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते वाग्लेको गएराति १२ बजेतिरको समयमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको हाे । ठक्कर दिने मोटरसाइकल चालक सुनवल– १ निवासी दीपेन्द्र पुन मगर पनि घाइते भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
केही दिनअघि भारतबाट भन्सार छली चितवन ल्याइदै गरेको ८७ लाखबराबरको मोबाइल सामग्री बर्दघाट क्षेत्र कटेर नवलपुरमा प्रहरीले नियन्त्रणमा लिएपछि उनी मानसिक तनावमा रहेका थिए । इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी भएका वाग्ले हाल निलम्बनमा परेका थिए ।