एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने, दुईजना मात्रै उपाध्यक्ष, सात सचिव, निर्वाचन प्रणालीमा फेरबदल (भिडियोसहित)

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

एमालेले केन्द्रीय कमिटी २२५ सदस्यीय हुने गरी विधान संशोधन गर्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सातजना रहने केन्द्रीय कमिटी दुई सय २५ सदस्यीय बनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । आगामी २७ र २८ भदौमा हुने विधान महाधिवेशनबाट पार्टीको विधान संशोधन गरिनेछ । सोमबार नै बसेको स्थायी कमिटी बैठकले निर्णय गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस भएको थियो । स्थायी कमिटीको निर्णय केन्द्रीय कमिटीबाट सर्वसम्मत अनुमोदन भएको छ । 

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पक्ष सहभागी भएको थिएन । स्थायी कमिटी बैठकमा सहभागी गौतम आफ्नो धारणा राखेर बाहिरिएका थिए । 

एमालेको नवौँ महाधिवेशनबाट एक सय ५९ सदस्यीय कमिटी निर्वाचित भएको थियो । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए । 

सचिव पदबाट समावेशिता कायम गर्ने निर्णय पनि एमालेले गरेको छ । केन्द्रीय कमिटी र पोलिटब्युरो रहने र सानो आकारको सचिवालय रहने गरी विधान संशोधन हुने भएको छ । हाल केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संरचनामा एमाले छ । 

महाधिवेशन प्रतिनिधि परिषद् प्रस्ताव गरिएको छ । राष्ट्रिय महाधिवेशनबाट प्रतिनिधि चयन भइसकेपछि पाँच वर्षसम्म कायम रहने, पहिलो वर्ष राष्ट्रिय महाधिवेशनमा भाग लिने, त्यसको दुई वर्षपछि परिषद्को बैठक हुने, त्यसमा केन्द्रीय कमिटीको कामको मध्यावधि समीक्षा गर्ने र अर्को महाधिवेशन हुनुभन्दा एक वर्षअघि परिषद् विधान अधिवेशनमा रूपान्तरण हुने ज्ञवालीले बताए । 

प्रदेश कमिटीमा पनि पदाधिकारीको प्रस्ताव गरिएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव एक र उपसचिव दुईजना रहने प्रस्ताव छ । जिल्ला कमिटी र पालिका कमिटीमा पनि सोही संरचना हुने ज्ञवालीले जानकारी दिए । 

महाधिवेशन पाँच वर्षमा, प्रदेश अधिवेशन चार वर्षमा, जिल्ला र पालिका अधिवेशन तीन वर्षमा र त्योभन्दा तल्लो तहको अधिवेशन दुई वर्षमा हुनेछ । 

निर्वाचन प्रणालीमा फेरबदल
एमालेले निर्वाचन प्रणालीमा पनि फेरबदल गर्ने भएको छ । महाधिवेशन र अधिवेशनले अध्यक्ष र सदस्य चुन्ने र कमिटीका अन्य पदाधिकारीलाई सम्बन्धित कमिटीले चुन्ने व्यवस्था गर्न लागिएको ज्ञवालीले बताए । 

नवौँ महाधिवेशनबाट वरिष्ठ नेताबाहेक सबै पदाधिकारी निर्वाचित भएका थिए । पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटीले गठन गर्ने एमालेको व्यवस्था छ ।

केन्द्रीय कमिटीको निर्णयमा तल्ला कमिटीमा एक महिनासम्म छलफल हुने र विधान महाधिवेशनमा प्रस्ताव पेस हुने ज्ञवालीले जानकारी दिए ।

See More On

सुझावित समाचार