प्राधिकरणको नाफा ११ अर्बबाट घटेर ३ अर्बमा सीमित, चालू आवमा पनि ३ अर्ब १६ करोड मात्र नाफा हुने प्रक्षेपण

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको खुद नाफामा आठ अर्ब ३० रुपैयाँले कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ मा ११ अर्ब ६८ करोड खुद नाफा कमाएको प्राधिकरणकाे नाफा गत आव ०७७/७८ मा तीन अर्ब ३८ करोडमा सीमित भएको छ । प्राधिकरण स्रोतबाट प्राप्त विवरणअनुसार अघिल्लो वर्षको खुद नाफाको तुलनामा गत वर्षको नाफा ३४ दशमलव ७८ प्रतिशतले ऋणात्मक हो ।  यति मात्र होइन, प्राधिकरणले चालू आर्थिक वर्षमा पनि प्राधिकरणको नाफा तीन अर्ब १६ करोड ५८ लाख रुपैयाँमा सीमित हुने प्रक्षेपण गरेको छ ।   

यसअघि पछिल्ला चार वर्षमा प्राधिकरणले आफ्नो नाफा वृद्धि गर्दै लगेको थियो । आव ०७५/७६ मा नाै अर्ब ८१ करोड, ०७४/७५ मा दुई अर्ब ८५ करोड र ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको थियो । त्यस्तै, आव ०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।

यसअघि १० साउनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आव ०७७/७८ मा प्राधिकरणको नाफा पाँच अर्ब रुपैयाँ हुने प्रक्षेपण सार्वजनिक गरेका थिए । तर, त्यो नाफा करबाहेकको हो । प्राधिकरण नेतृत्वले नाफा घट्नुमा भारतबाट आयात गर्ने विद्युतको परिमाण बढेको, चुहावटमा वृद्धि भएको र सुक्खायाममा प्राधिकरण र अन्य आन्तरिक स्वदेशी विद्युत् उत्पादनमा कमी आउँदा समग्रमा नाफा घटेको जानकारी दिएको छ । हिउँदमा आन्तरिक उत्पादन कम भएका कारण भारतबाट दुई अर्ब ७० करोड युनिट बिजुली आयात भएको र यो गत वर्षको तुलनामा करिब २० प्रतिशत बढी रहेको कार्यकारी शाक्यले जानकारी दिए ।  

प्राधिकरणको विद्युत् चुहावटमा वृद्धि भएको छ । अघिल्लो वर्ष १५ दशमलव २७ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा १६ दशमलव ०३ प्रतिशत पुगेको प्राधिकरणको भनाइ छ । जब कि आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणले १५ दशमलव ५  प्रशितमा झार्ने लक्ष्य राखेको थियो । यसो हुनुमा कोभिड– १९ का कारण वितरण प्रणालीमा प्राधिकरणले अनुगमन गर्न नसक्नु, समयमै मिटरिङ गर्न नपाउनु र प्रसारण लाइनतर्फ विद्युत् वहन अत्यधिक हुँदा प्राविधिक चुहावट पनि बढ्न पुगेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।  यसअघि आर्थिक वर्ष ०७२/७३ मा सबैभन्दा बढी २६ प्रतिशत चुहावट थियो । तर, क्रमशः ०७२/७३ मा २२ दशमलव ९० प्रतिशत, ०७३/७४ मा २० दशमलव ४५ प्रतिशत, ०७४/७५ मा १५ दशमलव ३२ प्रतिशत, ०७५/७६ मा १५ दशमलव २७ प्रतिशत पुगेको थियो । 

सुझावित समाचार