एक वर्षमा १९३ प्रहरी बर्खास्त

भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएकालाई नोकरीबाट हटाइयो

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो एक वर्षमा एक हजार  नौ सय ८२ जना प्रहरी कारबाहीमा परेका छन् । भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएका २७ प्रहरीलाई सेवाबाट बर्खास्त र एक सय ६६ जनालाई नोकरीबाट हटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बर्खास्त हुनेमा एक डिएसपी, दुई इन्स्पेक्टर, १३ सइ, पाँच असइ, पाँच जवान र एक कार्यालय सहयोगी छन् । त्यस्तै, दुई इन्स्पेक्टर, चार सइ, तीन असइ, २३ हवल्दार, एक सय २६ प्रहरी जवान र आठ कार्यालय सहयोगीलाई सेवाबाट हटाइएको छ । सेवाबाट हटाइएकामा कतिपय राजीनामा नदिई सम्पर्कविहीन हुने प्रहरी पनि छन् । कतिपय त विदेशमा छन् । 

एक वर्षमा एक हजार एक सय पाँच प्रहरीलाई कारबाहीस्वरूप नसियत दिइएको छ । जसमा तीन डिएसपी र १७ इन्स्पेक्टर पनि छन् । दुई एसपीसहित एक सय ४४ प्रहरीको ग्रेड रोक्का भएको छ । ६४ जनाको ग्रेड घटुवा, ७२ को पदोन्नति रोक्का, आठजनाको पद घटुवा, एक सय २७ जनाको तल्लो टाइममा घटुवा भएको छ । १३ जनालाई प्रतिकूल राय दिएर कारबाही गरिएको छ । 

एक वर्षको अवधिमा दुई एसपीसहित दुई सय ५६ जना निलम्बनमा परेका थिए । निलम्बनमा पर्ने एसपीमा रामेश्वर यादव र विमल बस्नेत छन् । प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा हुँदा अनियमिततामा संलग्न भएको पुष्टि भएपछि उनीहरूलाई निलम्बन गरी ग्रेड रोक्का गरिएको थियो । उनीहरूको निलम्बन फुकुवा भइसकेको छ । 

एक वर्षको अवधिमा ४३ जना सिनियर अफिसर कारबाहीमा परेका छन् । चार एसपी, सात डिएसपी र ३२ इन्स्पेक्टरमाथि विभिन्न प्रकारको विभागीय कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हरेक वर्ष औसतमा करिब दुई हजार प्रहरी विभागीय कारबाहीमा पर्ने गर्दछन् । उनीहरूले गरेको गल्तीअनुसार कारबाही हुने गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । 

सात सय तीन प्रहरीको राजीनामा 
गत आर्थिक वर्षमा सात सय तीन प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा दुई डिएसपी र नौ इन्स्पेक्टर छन् । त्यस्तै, ४१ सइ, एक सय ४१ असइ, तीन सय ९६ हवल्दार, ७७ जवान र ३७ कार्यालय सहयोगी छन् । यद्यपि, अघिल्लो वर्षको तुलनामा राजीनामा दिने घटेका छन् । आर्थिक वर्ष ०७६/७७ मा दुई हजार ६४ ले, ०७५/७६ मा तीन हजार ७३ ले र ०७४/७५ मा दुई हजार पाँच सय ६७ प्रहरीले राजीनामा दिएका थिए । 

गत वर्ष कोरोना महामारीको समय भएकाले राजीनामा स्वीकृतिमा पनि कडाइ गरिएको थियो । साथै राजीनामा दिएका कतिपय प्रहरी विदेश जाने प्रचलन रहेको, तर गत वर्ष वैदेशिक रोजगार पनि अवरुद्ध भएकाले राजीनामा दिने संख्या घटेको प्रधान कार्यालयले जनाएको छ । राजीनामा दिनेमा धेरैजसो हवल्दार छन् । पेन्सन अवधि पुगेलगत्तै उनीहरूले राजीनामा दिने गरेका छन् । राजीनामा रोकी सेवामा उत्प्रेरणा बढाउन गत वर्ष प्रहरी प्रधान कार्यालयले अध्ययन गरेर उनीहरूको समस्या समाधानको पहल पनि गरेको थियो । 

घर बिदा अनिवार्य गर्ने तथा ड्युटी समय घटाउने निर्णय भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । जवानबाट सिपाहीमा भर्ना हुन लामो समय लाग्ने भएकाले जवान र असइको बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने गरी प्रहरी नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको छ । 

कारबाही : एक वर्षमा १५ सय पाँच प्रहरीलाई कारबाहीस्वरूप नसियत दिइएको छ । जसमा तीन डिएसपी र १७ इन्स्पेक्टर पनि छन् । दुई एसपीसहित १४४ प्रहरीको ग्रेड रोक्का भएको छ । ६४ जनाको ग्रेड घटुवा, ७२ को पदोन्नति रोक्का, आठजनाको पद घटुवा, १२७ जनाको तल्लो टाइममा घटुवा भएको छ । १३ जनालाई प्रतिकूल राय दिएर कारबाही गरिएको छ । 

राजीनामा : गत आर्थिक वर्षमा सात सय तीन प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा दुई डिएसपी र नौ इन्स्पेक्टर छन् । त्यस्तै, ४१ सइ, एक सय ४१ असइ, तीन सय ९६ हवल्दार, ७७ जवान र ३७ कार्यालय सहयोगी छन् । 

See More On

सुझावित समाचार