कैलालीको कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकाका बासिन्दा जोखिम मोलेर डुंगाबाट नदी तर्ने गरेका छन् । बर्खायाममा बाढीले उर्लने कान्द्रा नदी वारिपारि दुवैतिर बस्ती छन् । कामविशेषले वारिपारि गर्नुपर्ने स्थानीयलाई नदी तर्न डुंगाको भर पर्नुको विकल्प छैन ।
कान्द्रापारि पर्ने वडा नम्बर ५ र ७ लाई अन्य वडासँग जोड्न नदीमा पुल छैन । त्यसैले जोखिम मोलेर डुंगाबाट नदी वारपार गर्नुपर्छ । त्यहाँ निर्माणाधीन पुल दशकदेखि अलपत्र छ । नदीपारिको बस्तीका बासिन्दालाई पुल नहुँदा बढी समस्या छ । भजनी बजार, नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र कामविशेषले नगरका अन्य बस्तीमा जान उनीहरुले नदी तर्दा जोखिम मोल्नुपर्छ ।
बर्खायाममा दैनिक सयौँ सर्वसाधारणले डुंगाको जोखिमपूर्ण यात्रा गर्ने गरेका भजनी– ५, लालबोझीका स्थानीय जोखनलाल चौधरीले बताए । ‘किनमेल गर्न भजनी बजार नपुगी हुँदैन । बिरामी हुँदा स्वास्थ्य चौकी जानैपर्यो,’ चौधरीले भने, ‘बजार, अस्पताल सबै पारी छन् । नगरपालिका कार्यालय पनि उतै छ । कतिपयका खेतबारी उतै छन् । जोखिम भएर के गर्नु नदी वारपार गरिरहनु पर्छ ।’
स्थानीयले जोखिम मोलेर नदी वारपार गरिरहँदा कान्द्रा नदीमा पुल निर्माणको काम भने दशकदेखि अलपत्र छ । हुलाकी राजमार्गअन्तर्गत भजनी– ५, लालबोझी र वडा नम्बर ३ ठेकी जोड्न कान्द्रामा पुल निर्माणका लागि ३१ जेठ २०६८ मै सम्झौता भएको थियो । तेस्रोपटक थपिएको अवधि सकिँदा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–बिरुवा जेभी पुलका चारवटा स्पानमध्ये दुई वटाको काम मात्र सकेको छ ।
एक सय मिटर लामो र ७.२ मिटर चौडा रहेको यो पुलको लागत चार करोड ४३ लाख रुपैयाँ हो । पुल बन्न सुरु हुँदा नदी पार गर्दा भोग्नुपर्ने दुःखका दिन जाने भए भनेर खुसी भएका स्थानीय निर्माणमा भएको ढिलासुस्तीले निराश र आक्रोशित छन् । ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चासो नदेखाएकोमा उनीहरुको आक्रोश छ ।
वडाध्यक्ष बुढाले पुल निर्माण भए नदीपारि दुई वडा दर्जनौँ बस्तीका बासिन्दालाई राहत पुग्ने बताए । पुल बनेमा स्थानीयबाहेक राजमार्गमा हिँड्ने सयौँले राहत पाउने उनले बताए । ‘बर्खाका तीन महिना नदी तर्न स्थानीयले निकै जोखिम मोल्नुपर्छ । पुल बनेको भए यो बाध्यता हट्ने थियो,’ बुढाले भने, ‘सय मिटर लामो पुल १० वर्षसम्म बनेन, अझै कहिले बन्ने हो यकिन छैन ।’ कान्द्रा नदीमा पुल नभएकै कारण धनगढी–टीकापुर–नेपालगन्जसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।