एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् । नेपालले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको जिकिर गरे । समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको उनको भनाइ छ ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरूले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे । उनले भने, ‘हामीमा पनि अहंकारका प्रवृत्तिहरू देखा परे । सामूहिकताका भावनाहरू हराउन थाले । अरूका ज्ञान अनुभवहरूलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमन्ड बढेर गयो । र, हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौँ । तर, के हल गर्न पार्टीभित्रका रोगको सही पहिचान गर्न हामी तयार छौँ ? हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौँ ।’
नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरूले जस्तो बाँदरेनाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरूको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ ।
नेपालले आफूभित्र रहेका त्रुटिहरू स्वीकार गरेर अघि बढ्ने आँट गर्न पनि आग्रह गरे । उनले भने ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्छ । सबै सुध्रिऊन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔँ ।’
नेपालले सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।