भिडभाड हुने कार्यक्रम नगर्न देउवाको अपिल, साझा प्रयासले महामारी नियन्त्रणमा आउने विश्वास

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले भिडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् । शनिबार सुरु भएको नेपाल मास्क अभियानको क्रममा ‘मास्क लगाऔँ, स्वास्थ्य मापदण्डको पालना गरौँ’ भन्दै देउवाले स्वास्थ्य मापदण्ड अपनाएर मात्र आफ्नो पेसा–व्यवसाय सञ्चालन गर्न पनि अपिल गरेका छन् । 

भिडियो सन्देशमा देउवाले सबैका साझा प्रयासले छिट्टै कोरोना महामारी नियन्त्रण गर्न सफल हुने विश्वास पनि लिएका छन् । कोरोना महामारीको तेस्रो लहरको लक्षण नेपालमा पनि देखिन थालेको भन्दै देउवाले स्वास्थ्य मापदण्डमा ध्यान दिन आग्रह गरेका हुन् । 

मास्क लगाऔं, स्वास्थ्य मापदण्डको पालना गरौं ।#MaskUpNepal pic.twitter.com/rEdGreoRUp

— Sher Bahadur Deuba (@SherBDeuba) August 7, 2021

सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नरहेको भन्दै उनले सबै मिलेर मात्रै महामारीलाई पार लगाउन सकिने बताएका छन् । अतिआवश्यक परेका वेला मात्र घरबाहिर निस्कन उनले आग्रह गरेका छन् । बाहिर निस्कने वेला नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दूरी कायम गर्न र वेलावेलामा साबुनपानीले हात धुन पनि उनले अपिल गरेका छन् । 

खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि देउवाले आग्रह गरेका छन् । 

सुझावित समाचार