चोभार सुक्खा बन्दरगाह तीन महिनाभित्रमा पूर्ण रूपमा सञ्चालन हुने
हिमाल सिमेन्ट कारखानाले अत्यधिक वायु प्रदूषण गरेको भन्दै स्थानीय र अभियन्ताले विरोध गरेपछि काठमाडौंको चोभारमा ०२८ मा खुलेको उद्योग ३० वर्षमै ०५८ मा बन्द भयो । त्यसको २० वर्षपछि सिमेन्ट उद्योगले चर्चेकोमध्ये केही जग्गामा सुक्खा बन्दरगाह निर्माण गरिएको छ । पहिला त्यहाँ उत्पादित सिमेन्ट देशका विभिन्न स्थानमा पुग्थे । अब विदेशबाट आयात गरिएका सामान सुक्खा बन्दरगाह हुँदै राजधानीलगायत क्षेत्रका बजारमा पुग्नेछन्, काठमाडौंवरपर उत्पादित सामान निर्यात गर्न पनि वीरगन्ज वा विराटनगर जानुपर्नेछैन ।
विगतमा धुलोका कारण स्थानीयवासी पीडित थिए, अब त्यहाँ हरियालीयुक्त सुक्खा बन्दरगाह बन्नेछ । बन्दरगाहभित्रको आवाज पनि बाहिरको बस्तीमा पुग्नेछैन, किनभने नेपालमै पहिलोपटक बन्दरगाहमा ‘न्वाइज ब्यारियर’ जडान गरिएको छ । बन्दरगाहमा ट्रक तथा कन्टेनरको आवतजावत निरन्तर हुने हुनाले केही मात्रामा वायु प्रदूषण हुनेछ, तर त्यो प्रभाव कम गर्न बन्दरगाहभित्र मात्रै होइन, कीर्तिपुर नगरपालिकाको ६ नम्बर वडामा १० हजार वृक्षारोपण गरिने सुक्खा बन्दरगाहको निर्माण, सञ्चालन तथा नियमन गर्ने निकाय नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।
चोभारमा हिमाल सिमेन्टले ओगटेको १ हजार ४१ रोपनी जग्गामध्ये २ सय ६० रोपनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना पुरानै हो । तर, १८ महिनामा सक्ने लक्ष्यसहित निर्माणको सुरुवात १७ साउन ०७५ मा भएको थियो । निर्माण सुरु भइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले ३ माघ ०७५ मा यसको शिलान्यास गरेका थिए । तर, कोरोनाका कारण भएको लकडाउन एवं स्थानीयको अवरोधका कारण निर्माण अवधि अरू १८ महिना थपियो । १३ साउन ०७८ मा ठेकेदारले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको छ । बन्दरगाह सम्पन्न गर्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गरिएको छ । अब चाँडै नै सुक्खा बन्दरगाहको उद्घाटन गर्ने र तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्यकारी निर्देशक गजुरेल बताउँछन् ।
चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि नेपालको आयात–निर्यात धेरै नै सहज हुने नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाशसिंह कार्की बताउँछन् । ‘नेपालको आयातमध्ये ६० प्रतिशतजति काठमाडौंकेन्द्रित नै हुन्छ, तेस्रो मुलुक निर्यात अधिकांश यहीँबाट हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले यो सुक्खा बन्दरगाह सञ्चालन हुनु नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि निकै महŒवपूर्ण हो ।’ सुक्खा बन्दरगाहको सञ्चालन जतिसक्दो चाँडो गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
के हो सुक्खा बन्दरगाह ?
आयात–निर्यात हुने सामानको सम्पूर्ण जेकजाँच, क्वारेन्टिन र भन्सार क्लियरेन्स गरी देशभित्र ल्याउन वा बाहिर पठाउने ठाउँ नै बन्दरगाह हो । समुद्रको पहुँच भएका ठाउँमा समुद्री किनारमा त्यस्ता बन्दरगाह हुन्छन् । जहाँ समुद्र हुँदैन, त्यहाँचाहिँ सुक्खा बन्दरगाहहरू हुन्छन् । अहिलेसम्म नेपालमा वीरगन्ज (दुईवटा), विराटनगर, भैरहवा, काँकडभिट्टा तथा तातोपानीमा सुक्खा बन्दरगाह तयार भई सञ्चालनमा आइसकेका छन् । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने क्रममा छ भने नेपालगन्ज र रसुवामा निर्माणको चरणमा छन् । कञ्चनपुरको दोधारा–चाँदनीमा नयाँ सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ । हालसम्म सीमानाकामा मात्रै सुक्खा बन्दरगाह रहेको र त्यहीँ भन्सार तिरेर सामान छुटाउने गरिन्छ । चोभारको सुक्खा बन्दरगाह मुलुकको भित्री भागमा भएको पहिलो बन्दरगाह हो । यो सञ्चालनमा आएपछि बाहिरी मुलुकबाट आएको सामान सीधै काठमाडौं मगाई आयातकर्ताले बजारमा पठाउन सक्नेछन् । त्यस्तै, नेपालबाट बाहिर निकासी गर्ने सामानको प्रक्रिया पनि यहीँ पूरा गरेर निर्यात गर्न सकिन्छ । नेपालमा सुक्खा बन्दरगाहको निर्माण, सञ्चालन तथा नियमन नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ, जुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत छ ।
चोभारको बन्दरगाहमा के छ ?
यो बन्दरगाह दुई भागमा विभाजन भएको छ । पहिलो, एक्जिम क्षेत्र, जसलाई आयात–निर्यातका लागि प्रयोग गरिनेछ । बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको चेकजाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टिनलगायतका काम यस क्षेत्रमा हुनेछ । दोस्रो, आन्तरिक ढुवानी तथा व्यापारका लागि छुट्टै भाग छ । व्यवसायीले यहाँ ल्याएर सामान अनलोड–अफलोड गर्छु, भण्डारण गर्छु वा लोडेड गाडी पार्क गर्छु भन्यो भने त्यो सुविधा यस क्षेत्रमा पाउनेछ ।

सुक्खा बन्दरगाहबाट आवाज बाहिर जान नदिन जडान गरिएको न्वाइज ब्यारियर
ड्राइपोर्टमा तीनवटा मुख्य भवनहरू छन्– भन्सार, क्वारेन्टिन र प्रशासनिक कार्यका लागि । त्यस्तै, ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका तीनवटा गोदाम छन्, जहाँ आयात–निर्यात गरिने मालवस्तु भण्डारण गर्न सकिनेछ । त्यस्तै, कन्टेनरमा सामान राख्ने र कन्टेनरबाट झार्ने (स्टफिङ–डिस्टफिङ)का लागि तीनवटा संरचना तयार भएका छन् । पाँच सयवटा ट्रक पार्किङ गर्न सक्ने पार्किङस्थल र पाँच सयवटै कन्टेनर राख्न सक्ने यार्ड छ । यहाँ आउने चालकहरूलाई खाना बनाउने घर र रेस्टरुम बनेको छ । तीनवटा धर्मकाँटा राखिएको छ ।
बन्दरगाहका लागि सडक तथा रेलवे सञ्जालमा जोडिनु अत्यन्तै महत्वपूर्ण हुन्छ । तर, तत्कालै सुक्खा बन्दरगाहलाई कुनै नयाँ सडक तथा रेल सञ्जालमा जोड्ने सम्भावना छैन । त्यसैले अहिले राजधानी प्रवेश गर्ने जुन–जुन राजमार्ग छन्, तिनकै माध्यमबाट यहाँसम्म मालसामान आउनेछन् । तर, काठमाडौं–तराई फास्ट ट्र्याक सुक्खा बन्दरगाहको ठ्याक्कै पारिपट्टि निर्माण हुँदै छ, बीचमा बागमती नदी छ । फास्ट ट्र्याक बनिसक्दा त्यसमा जोड्ने पुल पनि बनाउने तयारी छ । ‘फास्ट ट्र्याक बन्दा समय र लागत दुवै हिसाबले यस बन्दरगाहमा आउने कन्टेनरलाई सहज हुनेछ,’ गजुरेलले भने ।
काठमाडौंबाहिरका सुक्खा बन्दरगाहहरू निजी क्षेत्रले सञ्चालन गरिरहेका छन् । तर, चोभारको बन्दरगाह भने तत्कालका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले नै सञ्चालन गर्ने कार्यकारी निर्देशक गजुरेल बताउँछन् । उनी भन्छन्, ‘यो विकास समिति नियमनकारी निकाय भएका कारण दीर्घकालीन रूपमा भने अन्य सुक्खा बन्दरगाहहरूजस्तै निजी क्षेत्रका माध्यमबाट सञ्चालन गरिनेछ ।’
जतिसक्दो चाँडो बन्दरगाह सञ्चालनका लागि भन्सार विभाग, क्वारेन्टिन कार्यालय, सुरक्षा निकायलाई तयारी गर्न अनुरोध गरिएको पनि उनले बताए । गजुरेलले भने, ‘शुक्रबार पनि सरोकारवालाहरूसँग बैठक थियो, क्वारेन्टिनमा जनशक्ति कम रहेको भन्ने जानकारी आएको छ, बाँकी निकायले तत्कालै काम सुरु गर्न सक्ने बताएका छन् ।’ सीमानाकाभन्दा टाढा पहिलोपटक सुक्खा बन्दरगाह सञ्चालन गर्न लागिएकाले मोडालिटी बनाउन तथा सञ्चालन गर्न विशेष ध्यान दिने उनको भनाइ छ । गजुरेल थप्छन्, ‘यो हाम्रा लागि पनि नयाँ अभ्यास भएकाले चुनौतीका रूपमा पनि लिएका छौँ ।’
आठ महिनामै ५५% काम सम्पन्न गर्यौँ : आशिष गजुरेल, कार्यकारी निर्देशक नेपाल इन्टरमोडल यातायात विकास समिति

कोभिड महामारीकै बीचमा चोभारको सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्दाको चुनौती कसरी सम्झनुहुन्छ ?
निश्चय पनि यो काम चुनौतीपूर्ण नै थियो । म कात्तिक ०७७ मा यहाँ नियुक्त भएर आएको हुँ । ड्राइपोर्ट निर्माण १८ महिनामा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि म आउँदा २७ महिना बितिसकेको थियो । तर, त्यसवेलासम्म ४५ प्रतिशत मात्रै काम भएको थियो । त्यसपछिको ७–८ महिनामा बाँकी काम सम्पन्न भयो । कोभिडका कारण कामदार नपाइने, काम गरिरहेका मानिसहरूलाई कोभिड लाग्नेलगायत समस्या थियो । त्यसवेला हामीले यहाँ बिरामीलाई उपचार गराउने, आइसोलेसनमा राख्नेलगायत काम आफैँ गर्यौँ । कतिपय उद्योग बन्द भएका थिए, निर्माण व्यवसायीले पनि धेरै ठाउँमा सम्पर्क गरी सामान ल्याएर काम गरे । हामीले निर्माण व्यवसायी, कन्सल्ट्यान्टलगायत सबैको उत्तिकै सहकार्यमा काम सम्पन्न गर्यौँ । अब हामी जतिसक्दो चाँडो यसलाई सञ्चालन गर्ने उद्देश्यले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ । राज्यको १ अर्ब ६० करोड लगानीमा यति ठूलो पूर्वाधार बनेको छ । त्यसो हुँदा यसलाई कामविहीन बनाएर राख्दा फाइदा हुँदैन । त्यही भएर जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनेछौँ ।
राजधानीमै सुक्खा बन्दरगाह बनाउन आवश्यक थियो र ? केही टाढा जनघनत्व कम भएको स्थानमा पनि हुन सक्थ्यो नि होइन ?
राजधानीमै बन्नुको कारण माग कहाँ हुन्छ भन्ने विषयसँग पनि जोडिन्छ । बाह्य देशबाट जति पनि सामान आउँछ, त्यसमध्ये ६०–७० प्रतिशत काठमाडौं उपत्यकाकै लागि आउने हो । त्यसो हुँदा व्यवसायीहरूले काठमाडौं सामान ल्याउँदा वीरगन्ज, तातोपानी होइन कि काठमाडौंमै भन्सार जाँचपास गरेर डेलिभरी लिन्छु भन्यो भने यो सुक्खा बन्दरगाहले त्यो सुविधा प्रदान गर्छ । अहिले विद्यमान भन्सारहरूमा सामान धेरै हुँदा पालो कुर्नुपर्ने अवस्था छ । काठमाडौंमा सीधै सामान ल्याउँदा त्यहाँको लोड घट्ने र यो बन्दरगाहलाई काम पनि पुग्ने हुन्छ । काठमाडौंमा नै भन्सार जाँचपास गर्न पाउँदा व्यापारीहरूले आफ्ना सामान तत्कालै उपभोक्तासमक्ष पुर्याउन पाउँछन्, जसले उनीहरूको लागत घट्छ । त्यसैले यो सुक्खा बन्दरगाह यहाँ उपयुक्त छ भन्ने लाग्छ ।
सुक्खा बन्दरगाहमा सामान ल्याउन यातायातको सहजता मुख्य कडी हो । तर, त्यस क्षेत्रमा काम भएको देखिएको छैन नि ?
यो सुक्खा बन्दरगाह सञ्चालनका लागि काठमाडौं–तराई फास्ट ट्रयाक अति नै महत्वपूर्ण हुन्छ । त्यो अहिलेसम्म बनिसकेको भए धेरै सहयोग हुन्थ्यो । तर, फास्ट ट्रयाक निर्माणका क्रममा रहेकाले यो बन्नेबित्तिकै वीरगन्जबाट काठमाडौं आउने दूरी र समय दुवै कम पर्नेछ । त्यस्तै, दीर्घकालमा चीन तथा भारततर्फ रेलमार्ग बन्यो भने त्यो पनि यो ड्राइपोर्टमा जोडिनेछ । यसले निश्चित रूपमा ढुवानी खर्च कम हुनेछ ।
विगतमा यहीँ रहेको हिमाल सिमेन्ट उद्योगले धेरै प्रदूषण गरेका कारण उद्योग नै बन्द भएको थियो । सुक्खा बन्दरगाहचाहिँ प्रदूषणका हिसाबले कस्तो हुन्छ ?
सुक्खा बन्दरगाह भनेको आफैँमा सुक्खा हुने होइन । यसलाई धुलो उड्ने र वातावरण पूरै प्रदूषित बनाउने ठाउँ भनेर बुझ्नुभएन । यो न त सुक्खा हुन्छ, न त अन्य उद्योगले जस्तो यसले प्रदूषण नै गर्छ । हामीले सुक्खा बन्दरगाहमा पर्याप्त मात्रामा हरित क्षेत्र निर्माण गर्छाैँ । अहिले पनि काँकडभिट्टाको सुक्खा बन्दरगाहमा एकदमै धेरै हरियाली छ । हामीले यो ड्राइपोर्टभित्र रूख रोपिरहेका छौँ । यसको आसपास अर्थात् कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा १० हजार रूख रोप्दै छौँ । त्यसो हुँदा यो हरियालीयुक्त ड्राइपोर्ट हुनेछ ।
यहाँ धुलो उड्ने वा फोहोर हुने केही पनि हुँदैन । सवारीसाधन आउँछन्, तर ती पनि ग्रिन स्टिकर भएकै आउने हुन् । सवारीसाधनले फाल्ने धुवाँबाहेक अन्य कुनै पनि प्रकारको प्रदूषण यहाँ हुँदैन । अर्कातिर, ड्राइपोर्टको आवाज बाहिर बस्तीमा नजाओस् भनेर हामीले ‘न्वाइज ब्यारियर’ पनि राखेका छौँ । नेपालमा सम्भवतः पहिलोपटक न्वाइज ब्यारियर प्रयोग भएको होला । ध्वनि प्रदूषण पनि नहोस् भन्ने सोचेर हामीले काम गरेका छौँ र प्रदूषणका बारेमा हामी पूरा सचेत छौँ ।