संसद् विघटनका लागि ओलीले माफी माग्नुपर्ने सर्त
एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले अध्यक्ष केपी ओलीको कार्यशैली र अभिव्यक्तिका कारण उत्पन्न अविश्वास नै पार्टी एकताका लागि सबैभन्दा जटिल बनेको निष्कर्ष निकालेको छ । एमालेका दोस्रो तहका नेताहरूले आन्तरिक विवाद मिलाउने कोसिस जारी राखेका वेला वरिष्ठ नेता नेपाल समूहका केन्द्रीय सदस्यहरूले राजनीतिक रूपमा आफूहरूको विजय भएकाले सम्मानजनक एकता मात्र सम्भव रहेको बताएका छन् । एकतापूर्व ओलीले संसद् विघटनका लागि माफी माग्नुपर्ने उनीहरूको सर्त छ ।
बिहीबारबाट सुरु भएको नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा अधिकांश सदस्यले आफूहरू सम्मानजनक एकताको पक्षमा रहेको भए पनि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई समान हैसियतको अध्यक्ष र अधिकार सुनिश्चित गर्ने गरी सहमति जनाउनेमा भने गम्भीर आशंका गरेका छन् । बैठकमा धारणा राख्ने डेढ दर्जन केन्द्रीय सदस्यले एकताकै पक्षमा धारणा राखे पनि सम्मानजनक एकतामाथि आशंका गरेका छन् । उनीहरूले एकताका लागि ओलीको नियत र नीतिबीच तालमेल नदेखिएको पनि बताएका छन् ।
उनीहरूले सम्मानजनक एकताका नाममा ओलीका तर्फबाट आएको प्रस्तावमा जालझेल हुन सक्ने भन्दै नेपालसहित वार्तामा संलग्न नेतामाथि खबरदारीसमेत गरेका छन् । बैठकले दशबुँदे सहमतिपछि पनि संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशन कार्यतालिका अगाडि सारेकोमा ध्यानाकर्षण भएको जनाउँदै तत्काल स्थगित गर्न माग गरेको छ । ‘उतातिरका वार्ता टोलीका साथीलाई अधिवेशन, सदस्यता नवीकरण २ जेठको बैठक बसेपछि मात्रै गर्ने हो, अहिलेलाई स्थगित गर्नुस् भनेर भीम रावलले ध्यानाकर्षण गराउनुभएको छ, महासचिवसँग पनि कुराकानी गर्नुभएको छ,’ बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘हामी एकताकै प्रयासमा छौँ ।’
बैठकको सुरुवात गर्दै वरिष्ठ नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीमा चलिरहेको एकता प्रयासमा केन्द्रित रहेर बैठकलाई ब्रिफिङ गरेका थिए । त्यस्तै, उपाध्यक्ष रावलले पार्टी एकताका लागि कार्यदलले गरेको दशबुँदे सहमतिको विषयमा केन्द्रित रहेर विस्तृतमा जानकारी गराउँदै छिट्टै एकताका लागि भइरहेको प्रयास सार्थक निष्कर्षमा पुग्ने बताएका थिए ।
बैठकमा वरिष्ठ नेता नेपालले संसद् बचाउने तहसम्म आफ्नो समूहले खेलेको भूमिकामाथि प्रकाश पारे पनि सरकारलाई समर्थन गर्ने कि नगर्ने तथा अध्यक्ष ओलीको पछिल्ला अभिव्यक्तिको जवाफ दिने विषयमा भने मौन बसेका थिए । तर, बैठकपछि नेता पन्तले आफूहरू सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको प्रस्ट्याए । केन्द्रीय कमिटी बैठकबाट धारणा बनाएर नेपाल समूह सरकारमा सहभागी हुने सत्तागठबन्धनको आस छ ।
नेपाल समूहको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्दै छ । पहिलो दिनको बैठकमा अरुण नेपाल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, बलराम बाँस्कोटा, सावित्रा भुसाल, प्रेमल खनाल, शेरबहादुर केसी, रविन्द्र अधिकारी, चूडामणि जंगली, ठाकुर गैरे, निरा जैरु, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, भावत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले धारणा राखेका थिए ।
पूरै विश्वासको अवस्था बनेको छैन, २४ गतेभित्र एउटा निर्णय लिनुपर्छ : माधव नेपाल
एकता मेरा लागि प्रिय छ । मेरो मुख्य जोड एकतामै छ । तर, आजको कुरा भोलिपल्ट खण्डित हुन्छ, अविश्वास छ । एकताको कुरा अगाडि बढ्नेबित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ । त्यसैले विश्वासको अवस्था बनेको छैन । सहमति गर्ने र तुरुन्तै उल्लंघन गर्ने काम हुन्छ । उतातिर २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । संगठित सदस्यता नवीकरण गर्ने, अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ । त्यसैले अब हामीले के गर्ने त्यो समयभित्रै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ । एकता हाम्रो इच्छा हो, चाहना हो । एकताकै लागि हामी वार्तामा सामेल छौँ र प्रयास गर्छौँ । राष्ट्रिय राजनीतिमा हाम्रा एजेन्डा स्थापित भएका छन् । तर, पार्टीभित्र ओलीले होच्याउने र छलकपट गर्ने काम गरिरहेका छन् । तैपनि एमालेलाई नै रूपान्तरण गर्ने गरी हामीले एकताको प्रयासमा जोड गरिरहेका हौँ । जस्तोसुकै अपमान, घृणा सहेर भए पनि अन्तिमसम्म हामीले एकताका लागि नै पहलकदमी लिनेछौँ ।
ओलीले नै दुई अध्यक्ष प्रस्ताव गर्नुभएको हो : भीम रावल
धेरै मिहिनेत र छलफलबाट दशबुँदे सहमति बनेको हो । सहमतिबारे अध्यक्ष र वरिष्ठ नेता दुवैलाई जानकारी छ । दुवैलाई जानकारी गराएर उहाँहरूको सहमतिमै भएको हो । दुवै पक्षको साझा दस्ताबेज भएकाले एउटा पक्षले भनेजस्तो अवश्य छैन । अहिले शक्ति बाँडफाँडमै छलफल चलिरहेको छ । अध्यक्षको बालकोट निवासमा मसहित महासचिव ईश्वर पोखरेल र कार्यदलबाट सुरेन्द्र, विष्णु र सुवास हामी बसेका थियौँ । अध्यक्षले पार्टी एकता गरेर जानका लागि माधवजी पनि हुने गरी दुई अध्यक्ष बनाएर जाऔँ । तपाईंले प्रस्ताव लैजानुस् भन्नुभएको हो र मैले माधव कमरेडलाई भेटेर प्रस्ताव गरेको हुँ । ईश्वर पोखरेलले पनि ठीक छ, मिलेरै जानुपर्छ भन्नुभएको हो, हामी पनि त्यसैगरी जानुपर्छ भन्नेमा छँदै थियौँ । अहिले त्यसैको सेरोफेरोमा कुराकानी चलिरहेको छ ।
समीक्षाका लागि दुवै पक्ष सम्मिलित कार्यदल बनाउनुपर्छ : अरुण नेपाल
दशबुँदे दुवै पक्षको सम्झौता भएकाले चित्त दुखाउनुपर्ने कुनै कारण छैन, यसैलाई आधार बनाएर अगाडि बढ्नुपर्छ । पावरसेयरिङ गर्नुपर्छ, तर स्थायी समिति, केन्द्रीय कमिटीबाट या अध्यक्ष र वरिष्ठ नेता बसेर मात्र पनि गर्ने होइन, विधान संशोधन गरेर मात्र गर्नुपर्छ । नवौँ महाधिवेशनको विधानमा दुई अध्यक्षको व्यवस्था नभएकाले संशोधन नगरी लागू गर्दा विधि मिचिन्छ, गलत परम्परा बस्छ । देशकै सर्वाधिक ठूलो र संगठित शक्ति एमाले फुट्दा पहिलो असर संविधानमा पर्छ । लोकतन्त्र, गणतन्त्रविरोधीले संविधानमाथि आक्रमण गरेर ध्वस्त बनाउने कोसिस गर्छन् । दोस्रो, विशिष्ट कारणले सत्ता कांग्रेसको हातमा गए पनि सर्वाधिक ठूलो शक्ति वामपन्थी मिले भने सत्ता उनीहरूकै हातमा हुन्छ र वामपन्थीले जे भन्छन्, त्यही हुने अहिले पनि स्थिति छ । वामपन्थीमध्येको ठूलो शक्ति एमाले फुट्दा वामशक्ति कमजोर हुन्छ र त्यो स्पेसमा अगाडि आउने दक्षिणपन्थी शक्तिले देशलाई दुर्घटनामा लैजान सक्छन् । निर्वाचन, पार्टी एकतायताका सबै ठूला घटनाक्रम, आरोप–प्रत्यारोपको यथार्थ समीक्षाका लागि दुवै पक्ष सम्मिलित कार्यदल बनाउनुपर्छ र त्यसले महाधिवेशनमा दस्ताबेज प्रस्तुत गरोस् ।
माओवादी र प्रतिक्रियावादी एमाले विभाजनमा लागेका छन् : ठाकुर गैरे
चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटीको बैठकले दिएको निष्कर्षकै जगमा हामी छौँ । त्यो आजसम्म फेरबदल भएको छैन, हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने भन्ने त कुरै छैन । एमाले अहिले संकटमा रहेको छ । एमाले विभाजन गर्न अमेरिका, भारत, कांग्रेस, माओवादी तथा अन्य प्रतिक्रियावादी शक्ति लागिरहेका छन् । अर्कोतर्फ स्वदेश तथा विदेशमा रहेका नेपाली जनता, नेता–कार्यकर्ता एमाले एकताको पक्षमा छन् । हामी अहिले यही दुई कित्तामा रहेका छौँ । यी कित्तामध्ये हामीले हाम्रा शुभचिन्तक, जनता, कार्यकर्ताको पक्षमा उभिनुपर्छ र आजको राष्ट्रिय आवश्यकता पनि त्यही हो । त्यसकारण एमाले विभाजन होइन एकता नै आजको आवश्यकता हो । कार्यदलले दशबुँदे सहमति गरेको छ, त्यही सहमतिको जगमा टेकेर अघि बढ्नुपर्छ । दशबुँदे सहमतिमा कमीकमजोरी होलान्, तर त्यसलाई सच्याएर अघि बढ्ने सक्ने आधार तय गर्दा झन् राम्रो हुन्छ ।
ओलीको अध्यक्षको प्रस्ताव झुटको खेती हो : बलराम बाँस्कोटा
हाम्रो मुद्दा सबल थियो । तर, अहिले हाम्रा गतिविधिले रक्षात्मक स्थितिमा छौँ, अब रक्षात्मक होइन, अफेन्सिभ भएर जानुपर्छ । अन्तर्पार्टी संघर्ष वैचारिक हो, तर दशबुँदेले प्राविधिक पक्ष मात्र समेटेको छ । वैचारिक पक्ष नसमेटीकन सहमति हुन सक्दैन । माधव कमरेडलाई केपीले अध्यक्ष दिने झुटको खेती हो । नवौँ महाधिवेशनको पृष्ठभूमिमा उहाँले वामदेवसँग, पार्टी एकता गर्दा प्रचण्डसँग सहमति गर्नुभयो, तर पूरा भएन । यति हुँदाहुँदै कार्यदल कसरी विश्वस्त भयो ? केपीको प्रतिगमनकारी कदम भन्ने, तर कहाँ सच्चियो ? ओली आत्मालोचना गर्न तयार छन् ? त्यसैले राजनीतिक मुद्दा छोडेर सहमति गर्नुहुन्न । वैचारिकसहितको एकता गर्नुपर्छ । कार्यदलले चेन अफ कमान्ड तोडेको हो कि किनभने हाम्रो कमान्डर माधव हो, उहाँ विश्वस्त नभईकन एकता सम्भव छैन ।
ओलीजीले किन च्याप्टर क्लोज्ड भन्नुभो ? : डा. विजय पौडेल
ओली अधिकारसहितको अध्यक्ष बनाउन तयार हुने कुरा वार्ता टोलीले अनुमति लिएर गरेको हो कि होइन उहाँहरूले जान्ने हो । अध्यक्ष बनाउने, पालैपालो बैठक गर्ने र संयुक्त हस्ताक्षर भयो भने सहमतिसहित एकताबद्ध भएर जाने राम्रै हो । तर, कसरी ओलीजीले उहाँहरूलाई अब च्याप्टर क्लोज भन्नुभयो ? त्यसकारण कि अध्यक्ष बनाउनुपर्छ भनेर भन्नुहुन्नथ्यो । भनिसकेपछि अध्यक्ष बनाउनुपर्छ र पावर सेयरिङ पनि हुनुपर्छ । एकता गर्ने हो भने प्रतिवेदनमा तीन कुरा लेखे पुग्छ । प्रतिगमन गल्ती थियो, आइन्दा हुनेछैन लेख्नुपर्छ । दोस्रो, यो प्रतिनिधिसभालाई पूरै कार्यकाल काम गर्न दिने भनेर लेख्नुपर्छ र तेस्रो, हामीले बनाएको सरकार भएकाले राष्ट्रिय स्वरूपको दिइन्छ भन्नुपर्छ । यदि सरकारमा नजाने हो भने पनि ठिकै छ, तर अघिल्ला दुई कुराचाहिँ उल्लेख हुनैपर्छ ।
विभाजन गर्ने भनेका छैनौँ, तर गल्तीको भारी नबोकौँ : रामकुमारी झाँक्री
पार्टी एकताको विषय महत्वपूर्ण हो, तर आत्मसम्मान त्यागेर एकता सम्भव छैन । स्थायी कमिटीका नेताहरूले कहाँ गएर के–के छलफल गर्नुहुन्छ, त्यसकै आधारमा भएका सबै निर्णय मान्य हुन्छन् भन्ने छैन । हामी आफ्नै समूहभित्र एकताबद्ध हुनुपर्छ । समूहभित्र पनि लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनुपर्छ । नत्र निर्णय स्वीकार्य हुँदैनन्, एकता प्रक्रियाका विषयमा र एजेन्डामा स्थायी कमिटी सदस्यहरूको रायका आधारमा मात्रै चल्ने काम बन्द गरौँ । पार्टीभित्रको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै विषयवस्तु केन्द्रीय कमिटीमा पनि छलफल गरेर तयार गरौँ । नेताहरूले दोधारे कुरा नगरौँ, सबै विषयमा प्रस्ट भएर अघि बढौँ । पार्टी विभाजन गर्ने भनेका छैनौँ, तर गल्ती गरेका विषयलाई भारी बोकेर हिँड्ने काम नगरौँ ।
सम्मानजनक एकताका लागि प्याकेजमै सहमति हुनुपर्छ : नागेन्द्र चौधरी
राजनीतिक, वैचारिक, सांगठनिक विषयमा प्याकेजमा छलफल भएर सम्मानजनक सहमतिमा जानुपर्छ । विगतमा दुई–दुईपटक असंवैधानिक ढंगले गरेको प्रतिनिधिसभा विघटन आत्मालोचनाको विषय बनाइनुपर्छ । सम्भव हुन्छ भने अध्यक्षले ती सबैको नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ । बल्ल विधि र पद्धति जे हो त्यसअनुसार पार्टी अगाडि बढ्छ । सात वर्षसम्म पार्टी चलाउँदा भएको कमजोरीको जवाफदेही लिएर उहाँले बिदा लिनुपर्छ ।
रूपान्तरित एमालेको नेतृत्व गर्ने गरी एकता गर्नुपर्छ : सुरेन्द्र मानन्धर
प्रतिनिधिसभभा पुनस्र्थापना, असंवैधानिक कदमलाई सच्याएर संविधानलाई ट्र्याकमा ल्याउने र ओलीको गैरसंवैधानिक काम सच्याउने कामको माधव नेपाल र झलनाथ खनालसहितको नेतृत्वमा हाम्रो समूहको भूमिकाबाट सम्भव भएको हो । यो उपलब्धिका साथसाथै एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद देखिँदै छ । पार्टी एकतालाई सम्मानजनक रूपमा सम्पन्न गरौँ । पार्टीलाई रूपान्तरण गरेर एकताबद्ध एमाले बनाउने कामको नेतृत्व माधव कमरेडले गर्नुपर्छ । सम्मानजनक एकताका लागि सबैले भूमिका खेल्नुपर्छ ।
ओलीले आत्मालोचना गर्नुपर्छ : सावित्रा भुसाल
केपी ओलीले प्रतिनिधिसभा विघटनलाई कमजोरीका रूपमा स्वीकार गरेर आत्मालोचना गर्नुपर्छ । फेरि पनि प्रतिनिधिसभा विघटन नहुने सुनिश्चितता हुनुपर्छ । दशबुँदे सहमतिबाट मात्र एकता सम्भव छैन, समान हैसियतसहितको पावर सेयरिङ गरेर मात्र एकता सम्भव छ ।
एकताको बल ओलीको कोर्टमा छ : बलदेव चौधरी
पार्टी एकता ओलीको कोर्टमा छ, ओली लचक र जिम्मेवार भए एकता सम्भव छ । त्यसका लागि दशबुँदे सहमति पारिमार्जन हुनुपर्छ । २ जेठमा फर्किने भन्ने, तर २४ साउनमा बैठक बोलाउने काम भएको छ । ओलीले जहिले पनि धोका दिँदै आउनुभएको छ, सहमतिपछि पनि दशबुँदे सहमतिलाई धोका दिन खोजिएको छ, कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी ओलीको हो । हामी कुनै हालतमा पार्टी फुटाउँदैनौँ, फुटाए ओलीले फुटाउने हो । अध्यक्ष भएको नाताले मिलाउने जिम्मेवारी उहाँकै हो । दशबुँदे सहमति पनि गर्ने अनि लाल गद्दार भन्दै भाषण गर्ने ? ओलीको मनसाय अझै दशबुँदेको पक्षमा छैन जस्तो देखिन्छ । त्यसैले विश्वासको वातावरण बनाउनुपर्छ ।
केपी ७० वर्ष पुग्नुभो, विधानअनुसार राजीनामा दिनुपर्छ : दिनेश राई
एमालेभित्रको अहिलेको विवाद पार्टीलाई नेतृत्वले विधिअनुसार सञ्चालन गर्न नसक्दाको परिणाम हो । एकताका लागि २ जेठअघि पार्टीलाई फर्काउनुपर्छ । १० बुँदेमा पार्टीलाई कसरी फर्काउने स्पष्ट छैन । प्रतिनिधिसभा विघटन, दुईतिहाइको सरकारलाई ध्वस्त बनाउने कामप्रति पनि अध्यक्ष आत्मालोचित हुनुपर्छ । हाम्रो विधानअनुसार ७० वर्षभन्दा माथि कार्यकारी पदमा बस्न पाइँदैन, उहाँले त्यो उमेर पार गर्न लाग्नुभो । त्यसकारण अब राजीनामा दिनुपर्छ । पावर सेयरिङ गर्दा दुईजनाको हस्ताक्षर चल्ने गरी एकता हुनुपर्छ ।
माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव कार्यान्वयन हुनुपर्छ : प्रतापलाल श्रेष्ठ
दुःख गरेर निर्माण गरेको पार्टी हो, यसको एकता जसरी पनि जोगाउनुपर्छ । अध्यक्षले गल्ती महसुस गर्नेबित्तिकै एकतासहित पार्टी अगाडि बढिहाल्छ । उहाँले उल्टै हामीलाई गाली गर्दा समस्या आएको छ । ११ देखि २८ फागुनसम्म, पछिल्लोपटक २७ वैशाखसम्म पनि हामीले पार्टी एकताका लागि उपयोग गर्न सकेनौँ, अहिलेसम्म पनि उपयोग गर्न सकेका छैनौँ । अझै पनि कमजोरी महसुस गरे एकता कायम गर्न सकिन्छ । माधव कमरेडलाई अध्यक्षको प्रस्ताव गरिसकेपछि आलटाल गर्ने काम गर्नुहुँदैन ।