८ कार्यालयबाट ९६ प्रतिशत भन्सार संकलन

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

विदेशबाट श्रमिकले ल्याउने घरायसी सामग्रीमा भन्सार छुटको पक्षमा अर्थमन्त्री, घरायसी सामग्रीको विषयलाई लिएर भन्सारमा श्रमिकलाई सास्ती नदिन आग्रह

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ९६ प्रतिशत भन्सार संकलन ८ वटा भन्सार कार्यालयबाट हुने गरेको छ । भन्सार विभागअन्तर्गतका कार्यालय संख्या ३६ वटा भए पनि भन्सार संकलनको अधिकतम हिस्सा भने ८ कार्यालयमा सीमित रहेको छ । कुल व्यापारको ४ प्रतिशत जाँचपास मात्रै २८ वटा कार्यालयअन्तर्गत हुने गरेको तथ्यांक छ । 

भन्सार विभागका महानिर्देशक यामलाल भुसालले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्यालय उत्तरी सीमा क्षेत्रमा रहेका भए पनि भन्सारको ९६ प्रतिशत हिस्सा आठवटा भन्सार कार्यालयको मात्र रहेको जानकारी दिए । सबैभन्दा बढी वीरगन्ज भन्सार कार्यालयबाट ३५ प्रतिशत, भैरहवाबाट २५ प्रतिशत, सुक्खा भन्सारबाट १० प्रतिशत, विराटनगर भन्सारबाट ९ प्रतिशत, कैलालीबाट २ प्रतिशत र कृष्णनगर भन्सार कार्यालयबाट १ प्रतिशत भन्सार संकलन गरेको छ । देशको कुल राजस्वको ४५ प्रतिशत हिस्सा भन्सारको रहेको छ ।  

आव ०७७/७८ मा भन्सार विभागले १ खर्ब ६६ अर्ब ७३ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । यसमध्ये १ खर्ब ६० अर्ब भन्सार भने ८ वटा कार्यालयबाट संकलन भएको हो । बाँकी २८ कार्यालयबाट ६ अर्ब ६६ करोड मात्रै भन्सार महसुल संकलन भएको थियो । विभागअन्तर्गतका कार्यालयले कुल १५ खर्ब ३९ अर्ब ८३ करोडको आयातबाट उक्त भन्सार महसुल संकलन गरेका हुन् । 

राजस्वमा सानालाई कस्ने, ठूलालाई छुट दिने नहोस् : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले साना करदातालाई कस्ने र ठूलालाई छुट दिने काम भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् । बिहीबार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिनेक्रममा मन्त्री शर्माले आधारभूत तहका जनताले पनि राजस्वको छुट सुविधाको उपयोग गर्न पाउनुपर्ने बताएका हुन् । ‘मैले हालसालै राजस्व छुटका विभिन्न फाइलहरूमा निर्णय गरेको छु,’ मन्त्री शर्माले भने, ‘यस्ता छुट सुविधाहरू ताप्लेजुङ र हुम्लाका किसानहरूसम्म पुग्ने गरेको पाइएन । आधारभूत तहका जनताले पनि छुट सुविधाको उपयोग गर्न पाउनुपर्यो ।’ सामान्य खालका करदातालाई कस्ने र ठुल्ठूलाहरूलाई मात्र छुट दिने काम भइरहेको भन्दै यसलाई सच्याउन उनले निर्देशन दिए । 

‘वैदेशिक रोजगारीबाट फर्कनेहरूले विमानस्थल भन्सारमा दुःख पाइरहेको गुनासो मैले सुनेको छु,’ उनले भने, ‘जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, घर फर्कंदा उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन ? वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरूले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिँदैन ।’

घरैबाट भन्सार र कर तिर्ने व्यवस्था गर्न अर्थसचिवको निर्देशन
सोही अवसरमा अर्थसचिव मधुकुमार मरासिनीले घरैबाट भन्सार राजस्व तथा कर तिर्ने व्यवस्था गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । अहिलेको प्रविधियुक्त समयमा समेत विभिन्न भन्सार तथा राजस्व कार्यालयहरूमा सेवाग्राहीहरूको भिडभाड हुने गरेको भन्दै सचिव मरासिनीले घर–घरबाट भन्सार, राजस्व तथा कर तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले विश्व व्यापार संगठनमा आबद्ध भएयता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको टिप्पणीसमेत गरे ।

साढे ४ लाख कम्पनी विनादर्ता सञ्चालनमा
कार्यक्रममा राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरि अधिकारीले जिडिपीमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजस्वको दायरामा आउन नसकेको र ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको सुनाए । 

साढे ४ लाखभन्दा बढी कम्पनीहरूले विनादर्ता कारोबार सञ्चालन गरिरहेको तथ्यांक प्रस्तुत गर्दै दाहालले यी समस्याले गर्दा राजस्वको दायरा विस्तार हुन नसकेको तर्क गरे । यस्तै, ४८ अर्ब राजस्व बक्यौता रहेको, ५८ अर्ब अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको, १२ अर्ब मूल्य अभिवृद्धि कर बक्यौता रहेको र ५५ अर्ब राजस्व बेरुजु रहेको जानकारी दिए ।

See More On

सुझावित समाचार