निजी आवास पुनर्निर्माण पुस १० भित्रै सकिने

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १० पुसभित्र निजी आवास पुनर्निर्माणको काम सक्ने जनाएको छ । बिहीबार संसद्को विकास तथा प्रविधि समितिमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १० पुसको समयसीमाभित्रै काम सम्पन्न गर्ने बताएका हुन् । ‘प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने र घर नबनाउनेहरूले के कारणले घर बनाएनन् भन्ने अभिलेख राखिनेछ,’ समितिमा बोल्दै उनले भने ।

जम्मा लाभग्राहीमध्ये हालसम्म ९५ प्रतिशतसँग अनुदान सम्झौता भएको छ । जसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिएकामध्ये ९१ प्रतिशतले निर्माण कार्य सुरु गरेका छन् । दोस्रो किस्ता ९० प्रतिशत लाभग्राहीले लिएका छन् भने ८४ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ । 

आर्थिक वर्ष ०७७/७८ मा मात्रै १ लाख ७ हजार ३ सय ५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३ सय ५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७ सय ३८ हजारले अनुदान सम्झौता गरेका छन् । त्यस्तै, ४७ हजार ३ सय ८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५ सय ७८ ले तेस्रो किस्ता लिएका छन् ।

सम्पदा पुनर्निर्माण जम्मा ६३ प्रतिशत
समय सकिन साढे चार महिना मात्र बाँकी रहँदा ६३ प्रतिशत मात्र सांस्कृतिक सम्पदा पुनर्निर्माणका काम भएका छन् । प्राधिकरणका अनुसार हालसम्म ५ सय ८६ अर्थात् ६३ प्रतिशत काम भएको हो ।

९ सय २० पुरातात्विक तथा सांस्कृतिक सम्पदा भूकम्पले क्षति पुर्याएकोमा हालसम्म ५ सय ८६ निर्माण सम्पन्न भएका छन् । १ सय ९५ निर्माणाधीन रहेका छन् भने १ सय १५ अर्थात् १२ प्रतिशत सम्पदा पुनर्निर्माण सुरु हुनै सकेका छैनन् ।

कोरोना माहामारीका कारण गत आर्थिक वर्षको अन्तिम साढे दुई महिना काम रोकिँदा निजी आवासलगायत पुनर्निर्माणका कतिपय कार्यहरू सम्पन्न गर्न नसकिएको, केही बजेट फ्रिज भएको, सहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, जग्गा अभावका कारण केही विद्यालय पुनर्निर्माणमा समस्या देखिएको औँल्याइएको छ । प्राधिकरणको कार्यावधि ०७८ पुस १० गतेसम्म छ ।

धरहरा चढ्न पाउने कहिले ?
बैठकमा समिति सदस्यहरूले धरहरा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै धरहरा अझै पनि सर्वसाधारणका लागि खुला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा बोल्दै सांसद यज्ञराज सुनुवारले काम सम्पन्न भएको भनिएको धरहरा चढ्न नपाएकोप्रति गुनासो गरे । ‘धरहरा बन्यो । तीन–चार महिनाअगाडि उद्घाटन पनि भयो । तर, मानिसहरूले चढ्न पाएका छैनन्,’ बैठकमा बोल्दै उनले भने, ‘राजनीतिक नेतृत्वले हतार–हतार गर्दा हामीलाई यस्ता कुराहरूले गिज्याइरहेको छ ।’ उनले एउटै जिल्लाबाट ९–१० ठाउँमा जोखिमयुक्त बस्ती भनेर सार्नका लागि भनिए पनि सोअनुसारको काम नभएको आरोप लगाए ।

अर्का सांसद गणेश पहाडीले स्थानीय तह प्राविधिक रूपमा क्षमतावान् भइरहेको भन्दै अब बाँकी रहने काम स्थानीय तहलाई दिनुपर्ने बताए । ‘पुस १० गतेपछि स्वास्थ्य, शिक्षा, सम्पदाको काम अब विभिन्न निकायमा हस्तान्तरण भएजस्तै निजी आवासका कामको जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ । स्थानीय तह पनि अहिले प्राविधिक क्षमता विकासका लागि लागेको छ,’ सांसद पहाडीले भने । सांसद विना श्रेष्ठले प्राधिकरणले अहिले गरेको भौतिक प्रगतिलाई संरक्षण गर्नका लागि उचित नीति नै बनाउनुपर्ने बताइन् । 

सुझावित समाचार