बाइल्सको खेलत्याग र मानसिक स्वास्थ्यको बहस

सिमोन बाइल्सलाई विश्वले रोगलाई रोगकै रूपमा चिनाउने एक महान् जिम्नास्टिक खेलाडीका रूपमा लामो समयसम्म सम्झिरहनेछ

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

अमेरिकी जिम्नास्ट सिमोन बाइल्स टोकियोमा जारी महिला जिम्नास्टिक्सबाट पछि हट्नुले अमेरिकी मात्र होइनन्, विश्वभरका समर्थकलाई निराश बनाएको छ । जुन प्रस्तुतिमा उनले अढाइ फन्का लगाउनुपर्ने थियो, त्यसमा डेढपटक मात्रै फन्का लगाउन सकिन् र म्याटमा असहजतासाथ ल्यान्डिङ भयो । यस्ता अप्रिय घटना हरेक खेलाडीको जीवनमा आउँछन् र ओलम्पिकले लड्दा पनि फेरि तंग्रिने मौका दिन्छ । बाइल्सले त्यसपछिका खेलमा राम्रो गर्छिन् भन्ने सबैको अपेक्षा थियो । अपेक्षाविपरीत भावविह्वल भएर ड्रेसिङ रुम फर्केकी बाइल्सले मानसिक स्वास्थ्यका कारण बाँकी खेल नखेल्ने निर्णय गरिन् ।   

स्मरणीय रहोस्, बाइल्स आज पनि विश्वकै सर्वश्रेष्ठ जिम्नास्ट हुन् । रियो ओलम्पिक २०१६ मा जितेका चार स्वर्णबाहेक पनि उनले विश्वस्तरीय प्रतियोगितामा थुप्रै स्वर्णपदक पाएकी छन् । उनको जति स्वर्णपदक हालसम्म कुनै महिला वा पुरुष जिम्नास्टले पाएका छैनन् । सिमोनको जेसी ओवन्स, अबेबे बिकिला, जिम थोर्प र सर्जेई बुब्काजस्ता खेल धुरन्धरहरूको जस्तै मिथकीय हैसियत बनेको छ । मानसिक स्वास्थ्यका कारण एक खेलाडीले खेल छाड्नु ठूलो धक्काका रूपमा लिइएको छ । उनको खेलत्यागले ल्याएको स्तब्धताका बाबजुद यसले एउटा गम्भीर विषयलाई विश्वसामु ल्याएको छ । 

भारतमा आजका मितिमा पनि कोही आफ्नो मानसिक स्वास्थ्यबारे बोल्न खोज्छ भने साथी–भाइ र अभिभावकले उसलाई चुप लगाउने कोसिस गर्छन् । तथापि, पछिल्ला केही वर्षयता मनोचिकत्सकसँग परामर्श लिने क्रम भने बढेकै छ । तर, यस्तो परामर्शलाई फुर्सदका समयमा गर्ने कामकै रूपमा हेरिन्छ । परामर्श लिएपछि मनोचिकित्सकले बिरामीका आफन्तलाई डिप्रेसन एन्जाइटी मानसिक रोगलाई मधुमेह वा उच्च–रक्तचाप जत्तिकै गम्भीर भएर हेर्न सुझाउँछन् । अर्थात् मानसिक रोग पूर्ण रूपले निको नभए पनि नियन्त्रणमा राखे जीवनलाई सुखी र सार्थक बनाइराख्न सकिन्छ । मानसिक स्वास्थ्यका कारण कसैले परीक्षा दिँदैनन्, रोजगारी या अन्तर्वार्ता नै त्याग्छन् भने त्यस्तो परिस्थितिमा रोगीमा प्रोत्साहन छैन भन्ने सजिलो उत्तर भेटिन्छ । यस सन्दर्भमा बाइल्सको जीवन सन्दर्भले हामीलाई मानसिक स्वास्थ्यप्रति गम्भीर हुन सिकाउला कि ? 

बाइल्सको निर्णयले हामीलाई मानसिक स्वास्थ्यको प्रश्नलाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गरेको छ । सिमोन आफ्नो खेललाई निरन्तरता दिइरहन सक्थिन् । टोकियो ओलम्पिक्सका धेरै जिम्नास्टिक खेलले उनलाई पर्खिरहेको थिए/छन् । हुन सक्छ, बाइल्सले बाँकी खेलमा भाग लिइन् भने जोखिमयुक्त जिम्नास्टिक खेलबाट उनी घाइते हुने सम्भावना पनि उत्तिकै छ । यस्तो प्रकृतिको घटना पहिले पनि नदेखिएको भने होइन । २००८ को बेइजिङ ओलम्पिकमा विश्व कीर्तिमान बनाउने हर्डल रेसका असाधारण धावक ल्यु स्याङले दौड सुरु हुनुअघि दौड्दा अर्थात् फल्स स्टार्ट गर्दा उनको घुँडामा चोट लागेर खेलजीवन नै समाप्त भयो । यस्तो जोखिमको परिस्थितिमा बाइल्सको निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ ।

मानसिक स्वास्थ्य समस्याका कारण ओलम्पिक छाड्ने बाइल्सको निर्णयले हामीलाई मानसिक स्वास्थ्यको प्रश्नलाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गरेको छ

उनी म्याटमा फर्किन्छिन् वा खेल नै छोड्छिन्, त्यसको निर्णय भविष्यको गर्भमा रहेको छ । हालको समयमा पछिल्लो डेढ वर्षमा विश्वभरि फैलिएको कोभिड महामारीले मानसिक समस्यालाई पनि विश्वव्यापी महामारी बनाइदिएको छ । यस सन्दर्भमा वर्षौंदेखि टोकियो ओलम्पिक्सको तयारी गरिरहेका वेला मानसिक समस्या झनै बढेको हो भन्ने अनुमान गर्न सकिन्छ । लामो समय खेलाडीहरू विश्वस्तरीय वार्मअप खेलहरू खेल्नबाट वञ्चित भए । त्यही भएर पनि होला, आफ्ना लागि ओलम्पिक खेल्न चाहेकी बाइल्सले खेलमा अपनत्व पाउन सकिनन् । 

बाइल्सको अतीतमा फर्किने हो भने उनको जीवन कैयाै‌ं संकटले भरिएको थियो । अश्वेत पृष्ठभूमिकी बाइल्स आफ्ना चार भाइ–बहिनीमा तेस्रो सदस्य हुन् । सन्तानको जन्मपछि उनका बुबा–आमा छुट्टिए र आमा दुव्र्यसनका कारण जेल परिरहन्थिन् । चारै सन्तान अनाथालयमा हुर्किरहेका थिए, तर मावलीतिरका हजुरबुबाको पहलकदमीमा बाइल्स हुर्किइन् । एक अन्तर्वार्तामा सिमोन बाइल्सले आफ्नो बाल्यकाललाई सम्झिँदा भोक र डरबाहेक केही थिएन भनेर स्विकारेकी छिन् । परिवार के हो भन्ने उनी ६ वर्षकी हुँदा मात्रै थाहा पाइन् । यसको केही वर्षमै जिम्नास्टका रूपमा उनको ख्याति अमेरिकाभरि बढ्दै गयो र १६ वर्षकै उमेरमा उनी वल्र्ड अलराउन्ड टाइटल जित्न सफल भइन् ।  

२०१६ को रियो ओलम्पिकमा पदक जित्नुअघि बाइल्सले ओलम्पिक समितिलाई आफू एडिएचडी अर्थात् एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डरबाट ग्रसित रहेको र औषधी सेवन गरिरहेको जानकारी दिएकी थिइन् । उनले पछि आफ्ना समस्या मिडियामा खुलेरै अभिव्यक्त गरिन् । यस्तो रोगका बाबजुद उनले आफ्नो खेललाई सफलताको उचाइमा पु¥याइन् । यसले उनको आत्मबल र सामथ्र्य झल्काउँछ । विश्वले सिमोन बाइल्सलाई एक महान् जिम्नास्टिक खेलाडीका रूपमा लामो समयसम्म चिन्नेछ । त्यति नै महत्वसाथ मानसिक रोगविरुद्धको संघर्षकर्ताका रूपमा चिन्नेछन्, जहाँ रोगलाई कलंक नभई रोग नै हो भन्ने पारेकोमा पनि सराहना भइरहनेछ । 
(चन्द्रभूषण भारतका वरिष्ठ पत्रकार हुन्)  मिडियाभिजिलबाट  

सुझावित समाचार