सरकारले आवश्यकता देखेर तोकेको वैकल्पिक जिम्मेवारीमा जान तयार छु : हितेन्द्रदेव शाक्य (भिडियोसहित)

दोषी देखाएर अन्याय गरे मात्र अदालत जाने

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आवश्यकता देखेर तोकेको वैकल्पिक जिम्मेवारीमा जान तयार रहेको बताएका छन् । बुधबार पत्रकारहरूसँगको भेटघाटमा उनले सरकारले जुन जिम्मेवारी दिन्छ, त्यसलाई पूरा गर्न तयार रहेको बताए । 

एउटा कर्मचारीको रूपमा सरकारले जे जिम्मेवारी दिन्छ, त्यसमा भूमिका निभाउन तयार रहने उनको भनाइ छ । ‘तर, अर्को जिम्मेवारी दिँदा दोष देखाएर होइन, अर्को काममा तपाईंको आवश्यकता महसुस भयो भन्ने अवस्थामा सरकारले तोक्ने जिम्मेवारी स्विकार्नेछु,’ उनले भने ।  

तपाईंले चाहेको वैकल्पिक जिम्मेवारी के हुन सक्छ भन्ने प्रश्नमा भने यही हो भनेर उनले तोकेनन् । तर, धेरैवटा विकल्प सरकारसँग रहेको बताए । साथै वर्तमान जिम्मेवारीबाट दोषी देखाएर निकाल्ने वा अन्याय गरेको खण्डमा न्यायका लागि अदालत जाने विषय स्वाभाविक हुने उनले बताए । ‘तर, सरकारले आवश्यकता देखेर अर्को जिम्मेवारी दिन्छ भने किन अदालत जानु  र ?’ उनले भने । 
  
पत्रकारसँग उनले कतैबाट पनि राजीनामा दिन निर्देशन वा अनुरोध नआएको बताए ।  कोभिडको समयमा अझ बढी खटेर काम गरेको उनको दाबी छ । ‘तर, मैले गरेको काम चित्तबुझ्दो भए–नभएको माथिल्लो निकायले मूल्यांकन गर्ने विषय हो,’ उनको भनाइ छ ।

सुझावित समाचार