दार्चुला घटनाबारे अध्ययन गर्न गठित छानबिन समिति मंगलबार दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको समितिले घटनासम्बन्धी विवरण संकलन सुरु गरेको छ ।
समितिले मंगलबार घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ ।
छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।
तुइन तर्दै गर्दा सएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । भारतीय प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि सरकारले यसबारे थप निर्णय लिने गृहमन्त्री बालकृष्ण खाणले बताउँदै आएका छन् ।
जिल्लस्तरीय छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई खलंगा पुर्याइएको छ । प्रत्यक्षदर्शीलाई सुरक्षा दिई अन्यसँग भेटघाट गर्न दिइएको छैन । गृहबाट आएको छानबिन टोलीले प्रत्यक्षदर्शीसँग विवरण संकलन गर्दै छ ।