तुइन काटिएको घटनाका प्रत्यक्षदर्शी भन्छन्– कहाँ फसेजस्तो भयो

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण
तुइन काटिएको घटनाका प्रत्यक्षदर्शी भन्छन्– कहाँ फसेजस्तो भयो

बयानका लागि सोमबार सदरमुकाम ल्याइएका प्रत्यक्षदर्शी तुइनचालक कल्यान धामी तथा स्थानीय विक्रम रंकोली र अमिता धामी

गत शुक्रबार जयसिंह महाकालीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकालेको देख्ने प्रत्यक्षदर्शीहरूलाई प्रहरीले जिल्ला सदरमुकाम खलंगा झिकाएको छ । तुइन सञ्चालक कल्यानसिंह धामी तथा जयसिंहपछि तुइन तर्ने पालो पर्खिएका विक्रम रंकोली र अमिता धामीलाई प्रहरीले बयानका लागि झिकाएको हो ।

सदरमुकामबाट सशस्त्र प्रहरीका डिएसपी वीरसिंह धामी र नेपाल प्रहरीका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दलगायतको अनुसन्धान टोली शनिबार घटनास्थल गएको थियो । टोली सोमबार प्रत्यक्षदर्शी तीनजनालाई नै ल्याएर फर्किएको हो । दिउँसो साढे तीन बजे उनीहरूलाई दार्चुला पुलघाटबाट प्रहरीकै गाडीमा राखेर सीधै जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो । 

पत्रकार, अधिकारकर्मी, व्याँसका जनप्रतिनिधि, पीडितका आफन्तलगायतले प्रत्यक्षदर्शीहरूलाई भेट्न कोसिस गरे पनि प्रहरीले आनाकानी गरेका थिए । तर, सबैको दबाबपछि प्रश्न सोध्न नपाइने सर्तमा प्रत्यक्षदर्शीसँग भेट्न दिएको थियो ।
 
अनुसन्धानका लागि सुरक्षा अधिकारी घटनास्थल पठाउने, तर प्रत्यक्षदर्शीलाई सदरमुकाम झिकाएर आफन्तलाई समेत भेट्न नदिएर त्रास फैलाउन खोजेको भन्दै अधिकारकर्मी र पीडित परिवारले आपत्ति जनाएका छन् । 

बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘भेट्न दिइरहेका थिएनन् । सबैले दबाब दिएपछि मात्रै भेट्न दिइयो ।’ व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले पनि प्रत्यक्षदर्शी निकै डराएको बताए । ‘सबैतिरबाट फोन आउन थालेपछि उनीहरू मानसिक तनावमा छन्,’ उनले भने । 

दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले काठमाडौंबाट आउने उच्चस्तरीय छानबिन टोलीले प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने बताएको छ । ०५९ सालदेखि महाकालीमा तुइन सञ्चालन गरिरहेका कल्याणसिंह धामीको मन बेचैन छ । ‘यत्तिका वर्षसम्म तुइनमार्फत मान्छे तराएँ, अहिलेको जस्तो अवस्था कहिल्यै खेप्नुपरेन,’ सोमबार जिल्ला प्रहरी कार्यालयमा उनी भन्दै थिए, ‘फोन आएको आयै छ, कतिले के सोध्छन्, कतिले के सोध्छन् । मन होसमा छैन, जिउ भारी हुँदै गएको छ । जिन्दगीमा अब यो तुइनको काम गर्दिनँ ।’ 

कल्याणले दबाब महसुस गरिरहँदा उनको दायाँपट्टि रहेका विक्रम रंकोली र बायाँछेउ बसेकी अनिता धामी बोल्न सकिरहेका थिएनन् । उनीहरूका आफन्त ‘घटनाको यथार्थ जे हो, त्यही बोल्नुहोला’ भन्दै ढाडस दिइरहेका थिए ।

See More On

सुझावित समाचार